काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बौद्ध महोत्सव २०८३-हाम्रो संस्कृति, हाम्रो उत्सव’ आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिका वडा नं. ६, बौद्धको आयोजनामा हुने महोत्सव आगामी जेठ २३ गते महेन्द्रबौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सवमार्फत बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता तथा सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा स्थानीयवासी, युवा, परिवार, व्यवसायी, कलाकार, पर्यटक तथा संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँकी, स्थानीय कला–हस्तकला प्रदर्शनी, खाद्य स्टल, स्थानीय उत्पादन तथा विविध सांगीतिक प्रस्तुति रहनेछन्। साथै स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरूको विशेष प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।
बौद्ध महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई बौद्ध क्षेत्रको संस्कृति, पर्यटन, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने साझा अभियान भएको
वडा अध्यक्ष भुवन लामाले बताए । उनले बौद्ध क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थान भएकाले यसको पहिचान संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तासम्म पुर्याउनु महोत्सवको मुख्य उद्देश्य रहेको जानकारी दिए ।
महोत्सवलाई बौद्ध क्षेत्रकै साझा उत्सवका रूपमा मनाउन वडा क्षेत्रभित्रका घर, पसल, टोल तथा समुदायमा सूचना, ब्यानर तथा प्रचार सामग्रीमार्फत सहभागिताका लागि आह्वान गरिने बताइएको छ। आयोजकले सहभागीहरूलाई मौलिक संस्कृति झल्किने पोशाकमा उपस्थित भई र्याली, बाजा तथा सांस्कृतिक वातावरणसहित कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
सहभागीहरूको सहज आवागमनलाई ध्यानमा राख्दै पार्किङ व्यवस्थापनमा पनि विशेष तयारी गरिएको आयोजकले जनाएको छ। ट्राफिक व्यवस्थापन तथा सुरक्षाका लागि सम्बन्धित निकाय, स्वयंसेवक तथा स्थानीय टोली परिचालन गरिने बताइएको छ।
महोत्सवमा देश–विदेशबाट आउने पर्यटकहरूलाई विशेष स्वागत गरिने आयोजकले बताएका छन् । आयोजकका अनुसार विदेशी पर्यटकहरूले यस महोत्सवमार्फत नेपाली संस्कृति, मौलिक बाजा, नृत्य, स्थानीय स्वाद तथा सामुदायिक उत्सव प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। यसले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।
कार्यक्रम सबैका लागि खुला रहने आयोजकले जनाएको छ। स्थानीयवासी, युवा, बालबालिका, व्यवसायी, कलाकार, पर्यटक तथा सम्पूर्ण संस्कृति प्रेमीहरूलाई महोत्सवमा सहभागी भई ‘हाम्रो बौद्ध, हाम्रो संस्कृति, हाम्रो उत्सव’ सफल बनाउन आयोजक समितिले आग्रह गरेको छ।
