पोखराको पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरी बनाइएका भवनमाथि डोजर चल्यो

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पोखराको पृथ्वीचोक क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठन र सामाजिक संघसंस्थाका भवनमा डोजर चलाइएको छ। बिहीबार पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले संयुक्त रूपमा अभियान सञ्चालन गर्दै ९ वटा संरचना हटाउन थालेका हुन्।

महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क अगाडिको ‘संस्थान क्षेत्र’मा वर्षौंदेखि कब्जा गरिएका संरचना हटाउने निर्णयअनुसार डोजर चलाएको जनाएको छ। हटाइएका संरचनामा राजनीतिक दलनिकट ट्रेड युनियन, सामाजिक संस्था तथा अन्य संघसंस्थाका कार्यालय रहेका थिए।

पोखरा महानगरपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भवन र संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको थियो। तोकिएको समयसीमा सकिएपछि महानगरले चरणबद्ध रूपमा डोजर अभियान अघि बढाएको हो।

महानगरका अनुसार पृथ्वीचोकदेखि नयाँबजार क्षेत्रसम्मको पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको ठूलो क्षेत्रफलको जग्गा विभिन्न राजनीतिक दल, संघसंस्था तथा व्यक्तिले लामो समयदेखि प्रयोग गर्दै आएका थिए। बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको करिब २०० रोपनीभन्दा बढी जग्गा अतिक्रमणका कारण अहिले निकै खुम्चिएको बताइएको छ।

यसअघि पनि महानगरले फिर्के खोला र अमरसिंह चौर क्षेत्रमा रहेका अवैध टहरा तथा संरचना हटाउने अभियान सञ्चालन गरेको थियो। पृथ्वीचोकमा सुरु गरिएको पछिल्लो अभियानलाई सार्वजनिक सम्पत्ति संरक्षण र बसपार्क व्यवस्थापनसँग जोडेर हेरिएको छ।

सिफारिस