काठमाडौं । सिंहदरबार परिसरभित्र अव्यवस्थित रूपमा सञ्चालन भइरहेका अस्थायी टहरामा रहेका चमेना गृह हटाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबार परिसरको सुरक्षा, सरसफाइ, आवागमन व्यवस्थापन तथा प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्न यस्तो तयारी थालेको हो ।
प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार सिंहदरबार परिसरभित्र वर्षौंदेखि अस्थायी संरचना बनाएर सञ्चालन गरिएका केही चमेना गृह तथा अनधिकृत टहरा हटाउने विषयमा आन्तरिक छलफल भइरहेको छ। विशेषगरी सरकारी कार्यालय क्षेत्रलाई व्यवस्थित, सुरक्षित र ‘कर्पोरेट कल्चर’ अनुरूप सञ्चालन गर्ने योजनाअन्तर्गत यस्तो कदम अघि बढाइएको बताइएको छ।
प्रधानमन्त्री कार्यालयले सिंहदरबारबाटै शासन सञ्चालनलाई प्राथमिकता दिइरहेको र कार्यालय परिसरलाई व्यवस्थित बनाउने अभियान अनुरुप अस्थायी टहरामा संचालित चमेना गृह हटाउन लागिएको बताइएको छ । प्रधानमन्त्री कार्यालयले कार्यालय समय, सुरक्षा प्रबन्ध तथा प्रशासनिक अनुशासनमा कडाइ गरिरहेको सन्दर्भमा परिसरभित्र रहेका अस्थायी संरचनामाथि समेत निगरानी बढाइएको स्रोतको भनाई छ ।
सिंहदरबारभित्र सञ्चालन भइरहेका कतिपय चमेना गृहहरू अस्थायी टहरामा रहेको, केहीले अनुमति नवीकरण नगरेको तथा सुरक्षा मापदण्ड पूरा नगरेको गुनासो समेत उठ्दै आएको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन्। कार्यालय परिसरमा भीडभाड, फोहोर व्यवस्थापन र आगलागी जोखिमका कारण पनि त्यस्ता संरचना हटाउनुपर्ने माग उठिरहेको छ।
यद्यपि, हटाइने चमेना गृहको संख्या, समयसीमा तथा वैकल्पिक व्यवस्थाबारे भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन। कार्यालयका अधिकारीहरूले यस विषयमा आवश्यक अध्ययन तथा समन्वय भइरहेको बताएका छन्।
सिंहदरबारभित्र दैनिक हजारौं कर्मचारी तथा सेवाग्राही आउने भएकाले सस्तो खाना उपलब्ध गराउने चमेना गृह हटाउँदा कर्मचारीको सुविधालाई पनि ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ। केही कर्मचारी संगठनहरूले व्यवस्थित क्यान्टिन सञ्चालनको विकल्पसहित मात्र हटाउने निर्णय गर्नुपर्ने बताएका छन्।