नेपाल फिल्म सोसाइटीद्वारा नवनिर्वाचित चलचित्र कलाकार संघ कार्यसमितिलाई सम्मान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई विभिन्न संघ-संस्था तथा स्थानीय तहबाट सम्मान र शुभकामना दिने क्रम निरन्तर जारी रहेको छ । यसैक्रममा नेपाल फिल्म सोसाइटीले काभ्रेपलाञ्चोकको पनौतीस्थित थुम्की रिसोर्टमा विशेष कार्यक्रम आयोजना गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।

नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्ष उत्तम केसी, उपाध्यक्षद्वय शिवहरि नेपाल वैरागी र पूजना गुरुङ प्रधान, महासचिव सुनिल कटुवाल, सचिव गोपाल ढकाल, कोषाध्यक्ष तेजुला खतिवडा, सह-कोषाध्यक्ष पवन केसी तथा सदस्यहरूलाई सम्मान गरिएको थियो ।

त्यसैगरी सदस्यहरूमा इन्द्र दोडा खम्बे, चन्द्रकला राई, लभली संगम, श्रीदेव भट्टराई, मोनिका दाहाल, चन्द्रकुमारी, दमन रुपाखेती, नवीन श्रेष्ठ, सुलेमान संकर (ईकु), छुल्टिम गुरुङ, रस्मी भट्टलगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा वक्ताहरूले नवगठित कार्यसमितिले नेपाली चलचित्र क्षेत्रको व्यावसायिक विकास, कलाकारहरूको हक-हित संरक्षण तथा समग्र चलचित्र उद्योगको उन्नयनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री मधुकुमार श्रेष्ठले कलाकारहरू राष्ट्रको सांस्कृतिक पहिचानका संवाहक भएको उल्लेख गर्दै चलचित्र क्षेत्रको विकासका लागि राज्यले अझ प्रभावकारी नीति र सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, कलाकार संघका संरक्षक बसुन्धरा भुसाल, निवर्तमान अध्यक्ष मोहन निरौला तथा संस्थापक अध्यक्ष रवीन्द्र खड्कालगायतको विशेष उपस्थिति रहेको थियो ।

यस अवसरमा पनौती नगरपालिकाले पनि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको थियो । नगर प्रमुखले कलाकारहरूको योगदानको उच्च मूल्यांकन गर्दै चलचित्र क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

त्यसैगरी तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन र चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले समेत छुट्टाछुट्टै कार्यक्रममार्फत नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा बधाई ज्ञापन गरेका छन् ।

कार्यक्रममा चलचित्र तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले नयाँ नेतृत्वले चलचित्र क्षेत्रलाई एकताबद्ध गर्दै सिर्जनात्मक तथा व्यावसायिक विकासको नयाँ अध्याय सुरु गर्ने अपेक्षा व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष उत्तम केसीले कलाकारहरूको पेशागत सुरक्षा, सामाजिक सम्मान र क्षमता अभिवृद्धिमा आफूहरू प्रतिबद्ध रहेको बताउँदै निर्माता, निर्देशक, प्राविधिक तथा सरकारी निकायबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाइने प्रतिवद्धता जनाएका थिए ।

सिफारिस