लिभरपुलमाथिको शानदार जित सँगै मेस्सीको ६ सयौं गोल पुरा

दियो पोस्ट  

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले इन्ग्लिश क्लब लिभरपुललाई पराजित गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३-० गोलको अन्तरले पराजित गरेको हो ।

क्याम्प नाउमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै लुइस स्वारेजले एक गोल गरे ।

बार्सिलोनाले खेलको २६ औं मिनेटमा स्वारेजको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । योसंगै स्वारेजले सिजनको पहिलो च्याम्पियन्स लिग गोल गरे ।

पुर्व क्लबविरुद्ध स्वारेजको यो पहिलो गोल समेत हो ।

पहिलो हाफमा १-० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो । जसमा कप्तान मेस्सी नायक बने । खेलको ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । लिभरपुलविरुद्धको दुई गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ६ सयौं गोल पुरा गरेका छन् ।

यस्तै लिभरपुलविरुद्ध तीन गोल गरेसंगै बार्सिलोनाले च्याम्पियन्स लिगमा ५ सय गोल पुरा गरेको छ । घरेलु टोलीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन । लिभरपुलले पाएको केहि गोलको अवसर समेत खेर फालेको थियो ।

पहिलो लेगको जितसंगै बार्सिलोनाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लेग लिभरपुलको मैदान एनफिल्डमा हुनेछ ।

उक्त खेलमा बार्सिलोनालाई बराबरीले फाइनल प्रयाप्त हुनेछ । घरेलु टोलीलाई भने उत्कृष्ट पुनरागमनको जित आवश्यक बनेको छ ।

यसअघि बार्सिलोनाले क्वाटरफाइनलमा म्यानचेस्टर युनाईटेडलाई समग्रमा ४-० गोल अन्तरले पराजित गरेको थियो । यस्तै लिभरपुलले पोर्टोलाई समग्रमा ६-१ ले हराएको थियो । एजेन्सी ।