चेन्नईसँग सन्दीप लामिछानेको टोली ८० रनले पराजित

चेन्नईसँग सन्दीप लामिछानेको टोली ८० रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष टोली चेन्नई सुपर किंग्सले नेपालका सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गरेको छ ।

चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा चेन्नईले दिएको एक सय ८० रनको विजय लक्ष्य पछ्याएको दिल्ली १६।२ ओभरमा सवै विकेट गुमाएर ९९ रनमा समेटिएको थियो । यस खेलमा दिल्लीले सन्दीपलाई खेलाएन ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४४ रन बनाए । शिखर धवनले १९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्ने सकेनन् । दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका इमरान ताहिरले चार विकेट लिए । रबिन्द्र जडेजाले तीन विकेट लिए । हरभजन सिंह र दिपक चाहरले एक एक विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ खेले । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४४ रन बनाए । फाप डु प्लेसिसले ३९ र रविन्द्र जडेजाले २५ रन बनाए ।

बलिङमा दिल्लीका जगदीश सुचितले दुई तथा क्रिस मोरिस र अक्षर पटेलले एक एक विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले १३ खेलबाट १८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको दिल्लीको १६ अंक छ । यी दुवै टोली प्ले अफमा पुगिसकेका छन् । एजेन्सी

Facebook Comments

Trending News