-राधाकृष्ण देउजा
हिजो नेपाल प्रहरीको डिआइजी बढुवा संगतीपूर्ण भएन भनेर स्वतःफूत धारणा राख्दा कतिपयले त्यो अभिव्यक्तिलाई वढुवा भएका विश्वराज पोखरेलसँग मेरो व्यक्तिगत सम्वन्ध राम्रो रहेनछ कि ढंगले बझे । अनि कतिपयले चाहीँ बढुवामा छुटनेहरुसँग मेरो घनिष्ठता पो रहेछ कि भन्ने झैं मानेको पाइयो । यो मलाई पठाइएका मेसेजहरुको अध्ययन र विश्लेषणको निष्कर्ष हो । ती दुवै आशंकाहरु केबल आशंका थिए, तथ्य थिएनन । तर जब आफ्नो नितान्त व्यक्तिगत धारणालाई यो वा त्यो ढंगले ब्याख्या विश्लेषण भएपछि त्यसको बारेमा आफ्नो प्रष्टिकरण राख्नु बाञ्छनीय हुने ठानेर केहि लेख्नै पर्ने भयो । हिजो भएको डिआइजी बढुवालाइ संगतीपूर्ण नदेख्नुको निम्न कारण छनः
१. प्रहरीकै कतिपय अधिकृतहरु आफू अनकूल वरियताको ब्याख्या गर्छन र वरियताकै आधारमा अर्को बढुवामा आफुलाई सुरक्षित राख्न खोज्छन । तर एकै दिन भएको वढुवाको कथित वरियताको कुनै अर्थ छैन र हुनु हुदैन । किनकी अक्सर वरियता तत्काल शक्तीमा रहेकाहरुसँगको निकटताले तय गर्छ ।
तसर्थ बढुवाको समयमा कथित वरियता हैन सम्वन्धित पदमा रहेर गरेको काम र त्यसको परिणाम अनि समग्र जागिरे जीवनको इमान्दारिताको आधारमा मापन गरिनु पर्छ । तर वरियता र वरिष्ठताको बीचमा चाहीँ अन्तर हुनुपर्छ । सेवा प्रवेशदेखि वढुवासम्म अगाडी रहेका अनि कुनै खतवात नलागेका कोही बाँकी हुँदै सेवा प्रवेशमै पछाडी रहेकालाई बढुवा दिने काम चाहीँ किमार्थ उचित थिएन र हैन ।
यस अर्थमा प्रष्ट रुपमा भन्दा अहिले डिआइजी बढुवा गर्दा एसएसपी विश्वराज पोखरेललाई भन्दा एसएसपी बीरेन्द्र श्रेष्ठलाइ दिनु न्यायोचित हुन्थ्यो । यहाँ स्मरणीय र मननीय कुरो के पनि छ भने म उल्लेखित दुवै जनालाई चिन्दिन । बरु बढुवा हुने विश्व पोखरेललाई त एक पटक देखेको होला । तर बीरेन्द्र श्रेष्ठलाइ त देखेको पनि छैन ।
२. अनि सबैले बुझेको तथ्य के हो भने अहिलेको बढुवामा विश्व पोखरेल एक्लै बढुवा हुनु वा गरिनुको पछाडी भोली कुनै बेला आइजीपी बनाउने समयसम्मलाई हेरिएको छ । ठिक छ , विश्वराज पोखरेल आफुलाई प्रमाणित गर्दै , अझै राम्रो काम गर्दै एकदिन संगठनको नेतृत्व गर्नेमा पुगुन ।
तर के त्यसो गर्न प्रहरी लगायत सवै सुरक्षा निकायको निम्ति महत्वपूर्ण हुने वरिष्ठतालाई मिच्नु पर्दथ्यो त ? के उनले आफ्नो ब्याची प्रतिस्पर्धी अन्य एसएसपी सहित बढुवा हुँदा उनको आइजीपी हुने सम्भवना नै बन्द हुन्थ्यो त ? के यसरी एक्लै बढुवा गरिनुले उनी वा प्रतिस्पर्धामा खरो उत्रिन डराउने रहेछन भन्ने सन्देश गएन त ? माने पनि नमाने पनि यो वढुवाले एक्लै दौडिएर वा दौडाएर प्रथम बन्ने बनाउने शैलीलाइ बढावा दिएको छ ।
भलै भोलिको दिन परिस्थितिले कुन मोड लिन्छ त्यो त हेर्न बाँकी नै छ । तर पनि नेतृत्व लिन्छु भन्नेले वा कसैलाई नेतृत्वमा पु¥याउँछु भन्ने ठान्नेले प्रतिस्पर्धाबाट भागेर वा त्यसलाई छलेर हैन, त्यसको सामना गर्न तयार भएर अगाडी बढ्नु पर्छ । हिजोको वढुवाले त्यस्तो भए गरको देखाउदैन ।
३. प्रहरी वा जुनसुकै सुरक्षा संगठनमा पनि ब्याच सिस्टम छ र त्यो आवश्यकताकै आधारमा छ । बढुवा हुँदा पनि प्रत्येक ब्याचका उम्दवारहरु समय समयमा बढुवा हुँदै आएका छन् । तर हिजो जस्तो एक्लै बढुवा विरलै भएका छन । हो रिक्त रहेको तीन महिनाभित्र बढुवा गर्नै पर्ने सम्मानित अदालतको आदेश छ, त्यसको पालना हुनु पर्दथ्यो ।
त्यसो गरियो पनि, त्यो राम्रो भयो । तर त्यसो गर्दैगर्दा सेवा प्रवेशमै अगाडी रहेका वीरेन्द्र श्रेष्ठलाइ दिएर बढुवा गरको भए त्यो स्वाभाविक हुन्थ्यो । फेरि अहिले बढुवा नहुँदा विश्वराज पोखरेल सहित उनका ब्याचीहरु त बढुवा भै हाल्ने थिए । ढिला वा चाँडो अनि योग्यत, क्षमता हुँदा त दशौँ जनाको बीचबाट पनि एकजना प्रहरी प्रमुख हुने नै भए । त्यसो हुँदा विश्व पोखरले नै स्वाभाविक रुपमा, आलोचना र असन्तुष्टि रहित ढंगले स्वाभाविक रुपमै आइजीपी हुने सम्भावना जीवित रहन्थ्यो नै ।
४. अब यस एकल वढुवाले अहिले मात्रै हैन भविष्यमा पनि समस्या ल्याउने पक्का छ , किन ? किन भन्दा अहिले वढुवा भएर डिआइजी भएका विश्वराज पोखरेलसँगै सेवा प्रवेश गरेका , एसएसपीसम्म सँगै बढुवा भएकाहरु पनि केही समय पश्चात डिआइजी हुनेछन अनि जव त्यसभन्दा माथिल्लो तहमा बढुवा हुने कुरा आउँछ तव उनले आफुलाइ स्वाभाविक र एक्लो दावेदार मान्ने अवस्था आउनेछ । तर उनका अन्य ब्याचमेटले उनलाई प्रतिस्पर्धा रहित हुन त पक्कै दिने छैनन ।
सेवा प्रवेशमै अगाडी रहेका खतवात रहितलाइ पछाडी पारेर अगाडी बढुवा हुन मिल्छ भने एकै दिन सेवा प्रवेश गरेका समग्रतामा उस्तै योग्यता, क्षमता राख्ने भन्दा अग्रतामा रहेर बढुवा हुन खोज्ने वा हुने विषयलाइ अन्यथा मान्न मिल्ने छैन । तर यो मेरो टिप्पणी फेसबुकमा सुरक्षित नै हुँदै बढुवा हुँदा एक्लै भएकालाइ पछाडी पार्न कहाँ पाइन्छ ? भन्ने आवाज उठाइने छन । भलै त्यसको सुनुवाई हुने नहुने समयको जिम्मामा ।
५. माथि उल्लेखित विषयहरु सैद्धान्तिक कुराहरु भए । विश्वराज पोखरेल नभएर उनकै व्याची र क्षमताको अरु कोही हुँदा पनि उत्तिकै महत्वकासाथ उठ्ने थियो र सान्दर्भिक हुने थियो । अव स्वयंम विश्वराज पोखरेलले पनि मनन गर्नु पर्ने र भविष्यमा हेक्का राख्नु पर्ने एउटा विषय छ । प्रहरी संगठन भनेको एउटा अनुशासित संगठन हो ।
चेन अफ कमाण्डमा चल्नु पर्ने संगठन हो । त्यहाँ कार्यरत जो कोहीले संगठनले खटाएको जिम्मेवारीमा जानुपर्छ र प्रहरीको वीरतापूर्ण इतिहास हेर्दा संगठनले दिएको जिम्मेवारी हाँसीहाँसी पालना गर्दै गर्दा थुप्रैले वीरगति पाएका छन । तर केही समय अगाडी एसएसपी विश्वराज पोखरेल भारतस्थित नेपाली दुतावासमा सरुवा भएको हामी जस्ता सर्वसाधारणले पनि पढेको थियौं ।
तर विश्वराज पोखरेल खटाएको ठाउँमा नगएर, त्यहाँ नजानको निम्ती लविङ्ग गर्दै हिँडेको भन्ने समाचार दुखका साथ् पढ्नु पर्यो । पछि त थाहा भयो उहाँ जान नमानेपछि त्यहाँ अर्कै एसएसपीलाई पठाइएछ । विश्वराज पोखरेल साब वा उहाँलाई माया गर्नेहरुले लाख तर्क गरेर यसको वचाउ गरुन । तर त्यो कदम उनको व्यवसायिक परिचय र भविष्यको दावी सुहाउँदो थिएन ।
खैर जे होस, जे हुनु भैसकेको छ । बढुवा हुनेलाइ बधाई अनि आगामी दिनमा भए रहेका गल्ती कमजोरी सुधार्दै रहेका सकारात्मकतालाई रक्षा गर्दै, प्रतिस्पर्धाभित्रको खतरालाई हेर्नु भन्दा त्यसभित्र पनि खोज्न सकिने भाइचारा र सहकार्यलाइ हेर्न सुझाव ।
अनि जो सेवा प्रवेशमै आफु भन्दा पछाडी रहेकाहरु भन्दा पछाडी परे उनलाई ‘कसैको सहयोग, आशिर्वाद वा निगाहमा प्राप्त ठुलो पद भन्दा आफ्नो स्वाभिमान बचाउँदै आफ्नो क्षमताको आधारमा प्राप्त सानै पदको गरिमा ठुलो हुन्छ’ भन्ने सत्य स्मरण गर्न अनुरोध गर्दछु ।