दियोपोस्ट संवाददाता
धादिङ, २३ माघ । प्रहरीले ४७ किलो चरेश र ९ सय ७८ ग्राम अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ सेतिखोला स्थित कच्चि सडकमा भारतीय नम्बर प्लेटको डिएल ३ सिएडी ७०८१ नम्बरको मारुती सुजुकी कारमा लुकाई राखिएको अफिम र चरेश बरामद गर्न प्रहरी सफल भएको हो ।
अफिम र चरेश सहित कैेलाली जिल्ला जयपृथ्वी नगरपालिका ८ घर भएका ४६ वर्षिय काल्चे बोहोरा पनि पक्राउ परेका छन् । उनी सोही गाडीका चालक हुन् ।
उनको साथबाट केही थान मोबाइल समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका इन्सपेक्टर नवराज ढुङ्गेलले जानकारी दिए ।
गाडी चेकजाँच गर्ने क्रममा उक्त गाडीको पछाडीको सिट मूनी फल्स बटम बनाई रातो र खैरो रंगको प्लाष्टिक र्यापिङ गरीएको पोका प्रहरीले फेला पारेको थियो । सोही पोकामा ९७८ ग्राम अफिम र ४७ किलो चरेश बरामद गरिएको ढुङ्गेलले जानकारी दिए ।
लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर , इलाका प्रहरी कार्यालय गजुरीको संयुक्त टोलीले उक्त परिमाणको लागु औषधसहित चालक पक्राउ गरेको हो ।