वाइड बडी प्रकरणः अख्यितारले बयानको लागि बोलाउँदा विदेशी कम्पनीको अस्विकार !

दियो पोस्ट  

काठमाडौँ, जेठ २ । नेपाल वायुसेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणमा विदेशी विमान कम्पनीले वयान दिन अस्वीकार गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइड बडी प्रकरणको छानविन गर्नका लागि विमान खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीहरुलाई वयानको लागि बोलाएको भएतापनि कम्पनीका प्रतिनिधिहरुले अस्वीकार गरेका हुन् ।

आयोगले गत वैशाखमा आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाईफ्लाई एयरलाइन्स,र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको हो । बयानका लागि बोलाइएको भएतापनि अनुपस्थित भएपछि सरकारले दोस्रो सुचना जारि गर्दै ७ दिनभित्र उपस्थित हुनका लागि विदेशी कम्पनीहरुलाई पत्राचार समेत गरेको थियो ।

नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी विमानमा ४ अर्ब भ्रष्टाचार भएको लेखा समितिको प्रतिवेदनका आधारमा अख्तियारले छानविन गरिरहेको छ । यस क्रममा उसले खरिद प्रक्रियामा संलग्न निगमको सञ्चालक समितिका पूर्व पदाधिकारी, निगमका कर्मचारी लगायतसँग वयान लिएको छ।

संसदको लेखा समितिले भ्रष्टाचार भएको ठहर गर्दै थप अनुसन्धानका लागि अख्तियारलाई फाइल सुम्पिएको छ । नेपाल एयरलाइन्सले जहाज खरिदका लागि प्रस्ताव आह्वान गरेपछि आवेदक १० मध्ये सबैभन्दा नयाँ जहाज छ भनी कम मूल्य हाल्ने एएआर छनोट भएको थियो । तर, समझदारीपछि उसले आफूसँग जहाज नभएको बताएको थियो । खरिद प्रक्रियामा घुमाइफिराई विमान हाईफ्लाई क्स मार्फत खरिद गरिएको र चरम आर्थिक हिनामिना भएको आशंकामा अख्तियारले विमान कम्पनीहरुलाई समेत वयानका लागि बोलाएको थियो ।

खरिद सम्झौता हाईफ्लाई एक्स आयरल्यान्डसँग भए पनि जहाज हाई फ्लाई एयरलाइन्सले दिएका कारण आशंका उत्पन्न भएको दावी अख्तियार स्रोतको छ ।

TATA ADD