काठमाडौं । आफ्ना नातेदारलाई जागिर दिनका लागि अवैधानिक रुपमा प्रकाशित गरेको नतिजा खारेजी लगायतको माग राख्दै अखिल क्रान्तिकारीले रिले अनशन सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिवि शिक्षा आयोगमा विद्यार्थीहरुले सोमबारबाट अनिश्चितकालिन रिले अनसन सुरु गरेका हुन्।
मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी संगठनले उक्त अनशन थालेको हो। रिले अनशन अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेको नेतृत्वमा सुरु भएको छ।
विद्यार्थी नेताहरु सूर्य कार्की, महेश श्रेष्ठ, संर्घष दाहाल, जितेन्द्र लम्साल, कुमार वतौला, नेत्र शाही, साकार आचार्य, शोभा सेन्चुरी र सुलभ वैद्य अनशनमा वसेका छन्। विद्यार्थीले आयोग परिषर बाहिर अनसन सुरु गरिरहदा भित्र भने त्रिवि शिक्षा आयोगले प्रकाशित गरेको परीक्षामा नाम निकालेकाहरुको अन्तर्वार्ता भइरहेको थियो ।
अखिल क्रान्तिकारीले आइतबार पनि त्रिवि शिक्षा आयोगमा धर्ना दिएको थियो। उनीहरुले त्रिवि शिक्षा आयोग खारेज गर्नुपर्ने, आयोगका भ्रष्ट पदाधिकारीलाई कारवाही गर्नुपर्ने र अवैधानिक रुपमा प्रकाशित कर्माचारी नतिजा खारेज गर्नुपर्ने लगायतका माग राखेका छन्।