काठमाडौँ, जेठ ६ । राष्ट्रिय सभाका सदस्य तथा नेकपा नेता रामनारायण विडारीले यातायातको क्षेत्रलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय सभामा बोल्दै नेता विडारीले यातायात क्षेत्रलाई सरकारले अस्तव्यस्त बनाएर छोडेको आरोप लगाएका छन् ।
वर्षौदेखि रहेको सिन्डिकेटलाई हटाएर यातायातको क्षेत्रमा राम्रो कामको थालनी गरेको भएतापनी सिन्डीकेटसंग सम्वन्धित अन्य नीति निर्माणमा भने सरकारले बेवास्ता गरेको बताए । यातायात व्यवसाय संघलाई कम्पनीमा रुपान्तरण गरिएको तर कम्पनीको संचालन र संघको सम्पत्तिको बारेमा भने सरकारले कुनैपनि व्यवस्था नगरेको बताएका छन् ।
सिन्डिकेट हटाइएपनि पुराना सवारी साधनहरुलाई हटाउन सरकार असफल भएको उनले बताए । यातायात क्षेत्रमा २० बर्षभन्दा पुराना सवारी साधनहरुलाई हटाउन सकेमात्र यात्रु सुरक्षित हुने र वातावरणिय प्रभाव पनि कम हुने बताउँदै नेता विडारीले तत्काल पुराना सवारी साधनहरुलाई हटाई नयाँ र ठुला सवारी साधनहरु संचालनमा ल्याउनुपर्ने जोड दिएका छन् । अधिकांश लामो दुरी र दुर्गम स्थानमा थोत्रो सवारी साधनहरु संचालन भएको र यसबाट धेरै सवारी साधनहरु दुर्घटना हुने भएकोले सरकारको त्यसतर्फ ध्यानाकर्षण हुन जरुरी रहेको बताए । लामो दुरीका सवारी साधनहरुमा अनिवार्य रुपमा २ जना चालकहरु राख्नुपर्ने नियमलाई सरकारले कार्यन्वयन्मा नल्याएको र यसबाट बर्षेनी दुर्घटनाको दर बढ्दै गएको बताए ।
सरकारले ट्याक्सी चालकहरुको पिडालाई समेत मुल्यांकन नगरेको नेता विडारीले बताए । ट्याक्सी भाडा पाँच बर्षदेखि पुनर्विचार नगरिएको र यसबाट ट्याक्सी चालकहरु सरकारप्रति असन्तुष्ट रहेको बताए । ट्याक्सी चालकहरुको सुरक्षाको विषयमा पनि सरकारले विशेष व्यवस्था गर्नुपर्ने उनले बताए । ‘रातिराति ट्याक्सी चालकहरु कुटिन्छन्, लुटिन्छन, त्यसको जिम्मा कसले लिने’ नेता विडारी कड्किए । नीजि सवारी साधनहरुले पनि सार्वजनिक सेवा दिइरहेको र यसबाट ट्याक्सी चालकहरु मारमा परेको उनले बताए । ‘मोटरसाइकल, स्कुटर, कारले ट्याक्सीको काम गरेपछि ट्याक्सी चालकहरु कसरी बाँच्ने ?’ उनले भने । यसको लागि सरकारले उचित व्यवस्था गर्नुपर्ने बताए ।
उपत्यका लगायत अन्य क्षेत्रहरुमा ट्राफिक ब्यवस्थालाई चुस्तद्रुस्त राख्नको लागि समेत सरकारले चाँडै कदम चाल्नुपर्ने औँल्याएका छन् । यातायात क्षेत्रमा सरकारले तत्काल कदम नचालेको खण्डमा यातायात व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिने चेतावनी दिए । सुधारका कामहरु यही सरकारले मात्र गर्न सक्ने बताएका छन् । दुई तिहाइको सरकार बाहेक अन्य सरकारले गर्न नसक्ने बताउँदै नेता विडारीले काम गर्ने क्षमता हुँदापनि नगरे सरकार पश्चगमन तर्फ लाग्ने र इतिहासकै असफल सरकार बन्ने ठोकुवासहित चेतावनी दिएका छन् ।