काठमाडौँ, जेठ ८ । राजधानीको कोटेश्वरबाट लागुऔषध कारोबारमा संलग्न एक महिला पक्राउ परेकी छिन् । आफ्नै घरमा लागुऔषधको कारोबार गरेको सुचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका– १६ मा बस्दै आएकी ५० बर्षिया साबित्री श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएपछिको अनुसन्धानमा प्रहरीले लागुऔषध कारोबारी साबित्री श्रेष्ठले आफ्ना दुई छोरालाई पनि लागुऔषधको दुब्र्यसनमा फसाएको खुल्नमा आएको छ । प्रारम्भिक अनुसन्धानबाट साबित्रीले भारतबाट लागुऔषध ओसारपसार गर्ने र आफ्नै घरबाट कारोबार गरेको पाइएको छ ।
घरको चारैतिर सीसीटिभी क्यामेरा जडान गरिएको सो सिसिटिभी मार्फत उनले आफ्नो घरमा आउने मानिसहरुलाई पहिचान गर्ने र चिनजान नभएको मान्छेलाई घरभित्र छिर्नसम्म पनि नदिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
साबित्रीको श्रीमानसंगै दुई छोरा पनि छन् । श्रीमान् भने एउटै घरमा बसेपनि छुट्टै फ्ल्याटमा बस्दै आएको खुलेको छ । आफ्नी श्रीमतीको कारोबारमा राम्ररी परिचित भएको तर आफुले त्यसको वास्ता नगर्ने र खाना पनि छुट्टै खाने गरेको उनले बताएका छन् । आफ्ना छोराहरुलाई भने कारोबारमा संलग्न गराएका छन । ग्राहक खोज्ने, लागुऔषध पुर्याउने जस्ता कामहरु आफ्नो छोराहरुलाई प्रयोग गरेको अनुसन्धानबाट पत्ता लागेको छ । उनका दुबै छोराहरु लागुऔषध दुब्र्यसनमा फसेका छन् । प्रहरीका अनुसार २५ र ३० बर्षका २ युवाहरु अत्याधिक मात्रामा सिरिंज प्रयोग गरेको हुनाले शारीरिक रुपमा समेत अत्यन्त नाजुक अवस्थामा रहेका छन् ।
एक आमाले पैसाका लागि आफ्नै छोराहरुलाई प्रयोग गरेको घटना सायद पहिलोपटक भेटिएको छ । साबित्रीलाई पक्राउ गरेसंगै प्रहरीले मनोद्विपक लागू औषध डाईजेपाम ६७० एम्पुल, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्पुल गरी जम्मा १७११ एम्पुल र लागू औषध बिक्रि वितरण गरी संकलन गरिएको एक लाख ४१ हजार रुपैयाँ समेत वरामद गरेको छ ।