२०२२ मा हुने कतारको विश्वकपमा ३२ टोली मात्रै, किन ?

दियो पोस्ट  

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले नै प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार प्रेस विज्ञप्ति निकाल्दै कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

यसअघि गत चैतमा अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिलको बैठकले कतार विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको थियो । उक्त बैठकले विश्वकपमा कतारसंगै एक सह-आयोजक राष्ट्र थप्ने निर्णय गरेको थियो ।

तर, फिफाले गल्फ राष्ट्रबीच पछिल्लो समय घटेको राजनीतिक द्वन्दको कारण आयोजक राष्ट्र थप्न नसकिने हुँदा ४८ देश सहभागी गराउन मुश्किल हुने निस्कर्ष निकालेको जनाएको छ ।

फिफाको पछिल्लो निर्णयसंगै २२ औं संस्करणको विश्वकप कतारमा मात्र र ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको छ । कतार विश्वकप जाडो मौषममा आयोजना हुनेछ । यसअघिका सबै विश्वकप गर्मी मौषममा हुँदै आएको थियो ।

फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो । तर, फिफाले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरिसकेको छ । जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने कारण फिफाले विश्वकप जाडो मौषम गर्ने निर्णय गरेको हो । एजेन्सी ।

TATA ADD