काठमाडौँ, जेठ ९ । नेकपा नेता तथा सांसद अमनलाल मोदीले आफुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भ्रष्टाचार नै गरेको भनेर ठोकुवा नगरेको बताए । बुधबार एक टेलिभिजनमा अन्तरवार्ता दिँदै मोदीले प्राधिकरणले उठाउन बाँकी बक्यौता रकमको बारेमा आफुले प्रश्न मात्र गरेको स्पष्ट पारेका छन् ।
राज्यको ढुकुटीमा नौ अर्बभन्दा धेरै रकम बक्यौता रहेको र त्यसमा आफुले प्रश्न गरेको बताएका छन् । ‘प्रश्न गर्ने अधिकार सबैमा हुन्छ’, उनले भने, ‘सार्वजनिक लेखा समितिको वैठकमा छलफलको एजेण्डा बनेपछि मैले प्रश्न गरेको हुँ ।’ छलफलको क्रममा विगत तीन बर्षदेखिको बक्यौता कुल नौ अर्ब उठाउन बाँकी रहेको र त्यसमा कतै घिसिङकै मिलिभगत त छैन भनि आफुले प्रश्न गरेको बताए ।
एक बर्षभन्दा अगाडीको डाटा रेकर्डमा नहुने विद्युत प्राधिकरणले नै भनेको आधार मान्ने हो भने नौ अर्ब बक्यौता रकम कसरी उठाउने भन्ने प्रश्न पनि घिसिङमाथि उठ्ने बताए । जनताको रगत र पसिनाको पैसा राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने आफ्नो माग रहेको उनले बताए । त्यति ठुलो रकम बैँकमा जम्मा भएको भएपनि निकै धेरै ब्याज जम्मा हुने र त्यसलाई विकास निर्माणको काममा लगाउन सकिने उनले बताए ।
कुलमान घिसिङकै कार्यकालमा त्यति धेरै बक्यौता रकम उठ्न बाँकी रहेकाले उहाँमाथि प्रश्न उठ्नु स्वभाविक भएको समेत मोदीले बताएका छन् । कुलमान घिसिङमाथि लगाउनुभएको भ्रष्टाचारको आरोप पुष्टि गर्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा आफु कसैलाई भ्रष्टाचार प्रमाणित गर्ने व्यक्ति नभएको बताएका छन् । उनले भने, ‘जुनदिन प्राधिकरणले नौ अर्ब बक्यौता रकम उठाउन सफल हुन्छ त्यसदिन म आफै कुलमानलाई फुलमाला लगाएर सम्मान गर्छु ।’
भ्रष्टाचार प्रमाणित भए झुण्डेर मर्छु भन्ने कुलमानको अभिव्यक्ति स्वागतयोग्य रहेको समेत अमनलाल बताउँछन् । उनि भन्छन्, कुलमानले झुण्डेर मर्नुपर्दैन केबल नौ अर्ब बक्यौता रकम उठाए पुग्छ ।’
जोसुकै उद्योगपति र जतिसुकै ठुला नेताहरुसंग साँठगाँठ भएतापनि राज्यलाई तिर्नुपर्ने कर र महशुल तिर्नैपर्नेमा सांसद मोदीले जोड दिए । आफुले विद्युत प्राधिकरणको बारेमा प्रश्न उठाउँदा धेरै मानिसहरुले आफुलाई गालि गरेको र सामाजिक संजालका भित्ताहरुमा श्रद्धाञ्जली समेत दिएको भएतापनि आफुलाई त्यसले कुनै असर नपार्ने र एकदिन सत्यको जित हुने समेत बताए ।
उनले व्यक्तिगत रुपमा कुलमानप्रति कुनै किसिमको रिस राग नभएको बताए । कुलमान घिसिङले लोडसेडिङ अन्त्यका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको र उनको भुमिका तारिफ योग्य भएको बताए । तर, एउटा राम्रो काम गरेको व्यक्तिलाई धेरै नराम्रो काम गर्ने छुट पनि राज्यले नदिएको बताए । राम्रो काम गर्ने मानिसहरुविरुद्ध प्रश्न नै उठाउन नपाइने भन्ने व्यवस्था पनि नरहेको स्पष्ठ पारे ।
सांसद मोदी आफुले घिसिङ र सिडिओ संग पाँच लाख रकम मागेको भन्ने कुराहरु पनि भ्रामक र आधारहिन भएको बताउँछन् । जब आफुले कुलमान बिरुद्ध प्रश्न उठाए तब आफुबिरुद्ध भ्रम फैल्याइएको समेत आरोप लगाएका छन् । उनले आफुविरुद्ध लगाइएको आरोप प्रमाणित भए टुँडिखेलमा गएर सार्वजनिक रुपमा आत्मदाह गर्ने समेत चुनौती दिए ।
सम्वन्धित समाचार