पृथ्वी राजमार्गको चालिसे होटलमा बाल मजदुर, पढाउन ल्याएको बालिकामाथि चरम श्रम शोषण !

पृथ्वी राजमार्गको चालिसे होटलमा बाल मजदुर, पढाउन ल्याएको बालिकामाथि चरम श्रम शोषण !

दियोपोस्ट संवाददाता


धादिङ, १० जेठ । मैलो टिसर्ट, थाइकट पारेर काटिएको कपाल, चर्चरी फुटेका हातखुट्टा, चप्पल लगाएकी, घाँटीमा धागो बाँधेकी बलिका । हुलिया हेर्दा लाग्थ्यो उनको कोही आफन्त छैनन् । केही महिनाअघि परिवारकै सहमतीमा पढ्न भनि आएकी उनी पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने धार्केको ‘चालिसे स्टाफ होटल’मा मजदुरको रुपमा काम गर्छिन् ।


नाम अप्सरा परियार । वर्ष ११ । स्थायी घर चितवन । घरमा आमा बुवा, दिदी र दाजु छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइदिने सर्तमा एकजना नजिककी दिदीले उनलाई यहाँ ल्याइन् । उनलाई देखेर होटलका मालिक पनि खुसी भए । ‘बिहान बेलुकी होटलमा काम सघाउने र दिउँसोमा स्कुल जाने’, भनेर उनलाई मालिकले त्यहाँ राखे । होटलमा ‘मिठो खान पाइने, स्कुल पनि जान पाइने’ भनेर उनी खुसी भइन् । तर उनको खुसी धेरै दिनसम्म टिकेन । उनलाई मालिकले स्कुल पठाएनन् ।


आफ्नो घरको ठेगाना समेत भन्न नजान्ने उनले गाउँकै बिद्यालयबाट दुुई कक्षा उत्तिर्ण गरेकी थिइन् । राम्रो काम गरेको खण्डमा कक्षा तीनमा भर्ना गरिदिन्छु भन्दै होटल मालिकले उनलाई फकाएर त्यहाँ राखे । ‘होटलको काम भ्याइ–नभ्याइ छ’, त्यसैले, चाहेर पनि उनी स्कुल जान पाएकी छैनन् ।
पहिलो पटक घर छाडेको भएर पनि होला, उनलाई घरको साह्रै न्यास्रो लागेको छ । आमा बुवा, दाई र दिदीको याद अएको उनले बताइन् । तर आफुले चाहेको बेला घर जान नमिल्ने उनी बताउछिन् । ‘अर्को महिनादेखि स्कुल पठाउने भन्नु भएको छ, दशैमा स्कुलको बिदा हुन्छ रे, त्यती बेला घर जाने हो,’ उनले आफ्नो योजना सुनाइन् ।


होटल मालिकले ‘कसैसंग नबोल्नु, आफ्नो काम खुरुखुरु गर्नु’ भनेर उनलाई अर्ति दिएका छन् । होटलमा खाना र नास्ता खान आउने ग्राहक उनी संग बोल्न खोजे पनि उनी ‘काम छ’ भन्दै अर्कोतिर लाग्छिन्् । होटलको टेवलमा रहेका जुठा भाँडा उठाउँदै उनले भनिन्, ‘कसैसंग कुरा गरेको देख्नु भयो भने मलिकले मलाई गाली गर्नु हुन्छ,’ उनी केही डराए जस्तो देखिन्थिन् ।


धादिङ्गस्थित ‘चालिसे स्टाफ होटल’ अन्य होटलभन्दा राम्रै चलेको होटलमध्ये एक हो ।

राजधानीबाट पश्चिम जाने र पश्चिमबाट राजधानी भित्रिने बस तथा मइक्रो त्यही होटलको अगाडी रोकिने गर्छन् । बसका सयौँ यात्रुहरु दैनिक रुपमा त्यहीँ खाना र खाजा खाने गर्छन् ।

होटलको आम्दानी पनि राम्रै छ । उक्त होटलमा अप्सरा बाहेक अन्य दुई जना बालबालिका श्रमिकको रुपमा कार्यरत छन् । यद्यपी, नेपालको संबिधानमा कुनै पनि क्षेत्रमा बाल श्रमिक प्रयोग गर्न नपाइने उल्लेख छ ।


नेपालको संबिधान २०७२ को धारा ३९ मा बालबालिका सम्वन्धी हकहरू व्यवस्थित गरिएको छ ।

धारा २९ को उपधारा २ मा ‘प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गिण व्यक्तित्व विकासको हक हुने’ भनिएको छ । तर अप्सरा र अप्सराजस्ता लाखौँ बालबालिकाहरुलाई संबिधानले संबोधन गर्न सकेको छैन ।

संबिधानकैै खिल्ली उडाउँदै होटल तथा रेष्टुरेन्टमा खुलेयाम बालमजदुरको प्रयोग गरिएको पाइन्छ । यस तर्फ राज्य तथा सरोकारवाला निकाय भने मौन छन् ।


अप्सरा परियार एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता ५ वर्षदेखि १७ वर्ष उमेर समुहका करिव १६ लाख बाल–बालिका बाल श्रमिकको रुपमा प्रयोग गरिएको अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्याङ्कमा उल्लेख छ ।

ती मध्ये पनि ६ लाख २१ हजार बालबालिका अत्यन्तै जोखिमयुक्त कार्यमा संलग्न छन् । यसतर्फ सरकार बेखवर जस्तै छ । बालबालिकाहरु गरिवीका कारण यस्ता खाले जोखिम कार्यमा संलग्न हुने भएकाले गरिबी न्युनिकरणमा राज्यले पहल गर्नु देखिन्छ ।

Trending News