प्रधानमन्त्री रोजगार कार्यक्रमः कामको अवधी सय दिनबाट घटाएर एक महिनामा झारियो

दियो पोस्ट  

काठमाडौँ, जेठ ११ । युवाहरुलाई सय दिनको काम दिने गरि ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा कामको अवधी घटाइएको छ । सय दिन काम पाउने भएपछि पाँच लाख युवाहरुले सो कार्यक्रममा भाग लिन फारम भरेतापनि सरकारले सय दिनलाइ घटाएर एक महिनामा झारेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट संचालन गरिएको उक्त कार्यक्रम ढिला शुरु भएको कारण श्रमको अवधी घटाइएको जनाएको छ ।

युवालाई स्वरोजगार बनाउने उद्धेश्यले संचालनमा ल्याइएको सो कार्यक्रमअन्तर्गत सरकारले २ अर्ब ३६ करोड शसर्त अनुदान स्थानिय तहलाई पठाइसकेको छ । कुल ७ सय ५३ वटै तहका लागि सो रकम पठाइएको हो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पाँच लाखभन्दा बढी युवाहरुले रोजगारका लागि फारम भरेका थिए । सबै युवालाई रोजगार दिन नसकेपनि चालु आर्थिक बर्षमा कमसेकम एक लाख यृुवाहरुलाई रोजगार दिने लक्ष्य रहेको जनाएको छ । सार्वजनिक क्षेत्र, निर्माण तथा मर्मत क्षेत्रमा बेरोजगार युवाले काम पाउनेछन्। संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्थानीयस्तरमै बेरोजगार युवालाई काममा लगाउन लागिएको हो।

बेरोजगार युवाले काम गरेको अवधिको दैनिक ५ सय १७ रुपैयाँ पारि श्रमिक पाउँछन्। श्रम मन्त्रालयले कामका लागि पारि श्रमिक स्वरूप देशभरका ७ सय ५३ स्थानीय तहमा दुई अर्ब ३६ करोड बजेट पठाएको हो। स्थानीय तहले त्यसको ७० प्रतिशत पारि श्रमिकमै खर्च गर्नुपर्छ।

सरकारले श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्ति निर्माण गर्न छोटो अवधिका निःशुल्क तालिम आयोजना गर्नेसमेत तयारी गरेको छ। उद्यमशिलता विकासका लागि सरकारले निःशुल्करूपमा सीपमूलक तालिम आयोजना गर्ने लक्ष्य लिएको हो। सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप परीक्षण गर्दै आएको छ।

सिफारिस