राजधानीमा बम आतंक मच्चिएपछि कांग्रेसको अपिलः ‘हिंसाको राजनीति त्यागेर शान्तिको बाटो रोजौँ’

दियो पोस्ट  

काठमाडौँ, जेठ १२ । नेत्रबिक्रम चन्द नेतृत्वको समुहले राजधानीमा श्रृंखलाबद्ध रुपमा बम विस्फोट गराएपछि गम्भिर हुन नेपाली काँग्रेसले अपिल गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै हिंसात्मक गतिविधिमा लागेर राजनीतिक समस्या समाधान नहुने र शान्तिपुर्ण ढंगबाट समाधान खोज्न आग्रह गरेको छ ।

बम विस्फोटमा परि ज्यान गुमाउनेहरु विद्रोही पक्ष अथवा विपक्षका भएपनि अमुल्य जीवन गुमेको बताएको छ । शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ ।

विज्ञप्तिः

जेठ १२, २०७६

प्रेस विज्ञप्ति
हिंसा र विष्फोटप्रति गम्भीर बनौं

काठमाडौँका विभिन्न स्थानमा आज भएको बम विष्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ । नेपाली जनताको लामो संघर्षबाट प्राप्त आजका उपलब्धीहरुको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यवद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुलाई नेपाली कांग्रेसले अत्यन्तै दुःखद रुपमा लिएको छ ।

बम विष्फोटमा परेर जीवन गुमाउनेहरु विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ । नेपाली कांग्रेस लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट अन्तत कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत गराउन चाहन्छ ।

ललितपुरमा केहि महिना अघि भएको हत्या, भोजपुरमा जेठ ७ मा राज्यले गरेको ‘फेक इन्काउन्टर’ अनि आज काठमाडौँमा भएको घटनाले समग्रमा शान्तिपूर्ण संवाद भन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रष्ट्याएको छ । नेपाली कांग्रेस हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारुढ नेकपा र नेपाल सरकारलाई सार्वजनिक अपिल गर्दछ ।

घटनामा जीवन गुमाएका सबैको आत्माको चिर शान्ति कामना गर्दै नेपाली कांग्रेस सबै घाइतेहरुको सम्पूण उपचार गर्न नेपाल सरकार समक्ष आग्रह गर्दछ ।

जय नेपाल १

विश्वप्रकाश शर्मा
प्रवक्ता

सिफारिस