
काठमाडौँ, जेठ १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यलय कलंकीमा कार्यरत अधिकृतसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । मालपोत अधिकृत शिवप्रसाद रिमालले सामुदायिक वन उपभोक्ता समुहले उपभोग गरिरहेको सरकारी जग्गा गैरकानुनी श्रेस्ता खडा गरि व्यक्तिको नाममा नामसारी गरिएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरिएको हो ।
चन्द्रागिरी नगरपालिकामा रहेको पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा ब्यक्तिको स्वामित्वमा रहेको सुयल हाउजिङ्ग कम्पनीका नाममा पास गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत रिमालसहित नायव सुब्बा हरीप्रसाद आचार्य, मिनाकुमारी थापा, कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, दिपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो ।
काठमाडौंको साविक बाडभन्ज्याङ गाविस वडा नम्बर ३९ क को कित्ता नं. १ सय १ को ९२ रोपनी २ आना जग्गा कम्पनीको नाममा पुर्जा उपलब्ध गराएको अख्तियारले दाबी गरेको छ ।
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी कसुर गर्दाको समयको न्यूनतम सरकारी मूल्याङ्कन अनुसार दुई करोड २१ लाख १० हजार रुपैयाँ लिन खोजेको देखिएको अख्तियारले जनाएको छ ।