विप्लव समूहलाई प्रधानमन्त्री ओलीको प्रश्न: तिमिहरुको माग के हो ? अब के चाहियो ?

दियोपोस्ट संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकलाई सहज ढंगले अघि बढन नदिने गरी सो समूहले गरेको आतंककारी गतिविधिलाई रोक्नु र नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको पनि बताए ।
सोमबार ललितपुरमा आयोजित राष्ट्रिय मानव अधिकार आयोगको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले मानव अधिकारको, मानव मर्यादा र यसको सम्मानमाथि गम्भिर चोट पु¥याउने गरी भएका यस्ता आतंककारी समूहको गतिविधि सरकारले रोक्ने पनि दोहो¥याए ।

प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको समूहको काम के हो ? भनि प्रश्न पनि गरे ।
‘नेपाललाई सुशासन र विकासको बाटोमा सहज ढंगले अघि बढन नदिने गम्भिर प्रयासहरु भईरहेका छन,’प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘कुन उद्देश्य, को संघको आक्रोशमा विरोध, चाहिएको के हो, तिमिहरुको माग के हो ?’

लोकतन्त्रको मुख्य अभ्यासको रुपमा रहेको चुनावमा जित्न नसक्ने भएपछि चन्द नेतृत्वको समूहले गैर कानुनी, अमानवीय, आतंककारी गतिविधि गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता गतिविधिलाई सरकारले नियन्त्रणमा लिनु परेको बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो लोकतन्त्र र मानव अधिकारप्रतिको निष्ठा र प्रतिवद्धतामा शंका नगर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।

उनले मानव अधिकार र लोकतन्त्र नहुँदाको पीडा आफूले भोगेको स्मरण गराउँदै मानव अधिकारको प्रश्नमा खोट लगाउने कुनै पनि काम नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले मानव अधिकारको सम्पूर्ण प्रत्याभूतिका लागि आफूले आफ्नो वक्तव्य, नीति तथा कार्यक्रमहरुमा पनि अधिकारको समानता, अवसरको समानता, समान सुरक्षा र बराबरीको सम्मानलाई मूल आधार बनाएको पनि स्मरण गराए ।
प्रधानमन्त्री ओलीले मानव अधिकारको सम्पूर्ण रुपमा प्रत्याभूति गराउने दिशामा आफ्ना गतिविधिहरु केन्द्रित हुने पनि बताए ।

उनले प्रेस स्वतन्त्रताप्रति पनि सरकार प्रतिवद्ध रहेको बताए । तर संचारकर्मीहरुले कसैमाथि पनि गम्भिर आक्षेप लाग्ने गरी कलम चलाउन नहुने प्रधानमन्त्री ओलीको भनाई थियो ।

सम्बन्धित खबर

सिफारिस