विष्णु विश्वकर्मा
काठमाडौँ, जेठ १३ । नयाँ बानेश्वरका अमृत लामालाई बालुवाटार पुग्नु थियो । संघीय संसद भवनको पारी पट्टी उनी नेपाल यातायात कुर्दै थिए । घन्टौँसम्म नेपाल यातायात कुरेर सडक किनारमा धुलो खादैँ बसे तर नेपाल यातायात सडकमा देखिएन । समयमै गन्तव्य स्थानसम्म पुग्नु थियो । उनले ट्याक्सी चढेर बालुवाटार पुग्ने निधो गरे । बिपरित दिशातिरबाट आउँदै गरेको खाली ट्याक्सीलाई इशारा गर्दै रोके र आफु बालुवाटार जाने कुरा बताए ।
ट्याक्सी चालकले ‘हुन्छ’ भने । अमृतले ट्याक्सी चालकलाई मिटरमा जानका लागि आग्रह गरे । तर ट्याक्सी चालक मिटरमा जान मानेनन् । ट्याक्सी चालकले अरु समयमा लाग्ने भाडा भन्दा डबल भाडाको माग गरेपछि अमृतले ट्याक्सीमा जान अस्विकार गरे ।
‘बन्द अवज्ञा गर्नुपर्छ भन्दै यसअघिका बन्दमा सवारी साधनहरु पनि बाक्लै चल्थे, तर आज किन चलेन?, शायद हिजो बम पड्केर होला ।’ उनी आफैभित्र उत्तर खोज्दै थिए ।
विशेषगरि बालकुमारी देखि नक्साल हुँदै बालुवाटाबाट गोपिकृष्णसम्म चल्ने नेपाल यातायात सोमबार ठप्प थियो । आइतबार साँझ उपत्यकाको विभिन्न स्थानहरुमा विस्फोट भएपछि सुरक्षा चुनौती उत्तिकै थियाे ।
बालाजु घर बताउने नेगी शेसर आफु ट्याक्सी चढेर रत्नपार्क सम्म आएता पनि फर्कने बेला ट्याक्सी चढ्नु पर्ने कुराले चिन्तित थिए । उनले बन्दको समयमा ट्याक्सीले मनपरि भाडा असुल्ने गुनासो पोखे । रत्नपार्क सम्म आउँदा मिटरमा उठेको भन्दा २ सय बढी भाडा तिरेको उनले बताए । विप्लव समुहको बन्दले सर्वसाधारण जनतालाई नै सास्ती दिएको बताउँदै शान्तिपुर्ण ढंगबाट आफ्नो माग सरकारसमक्ष राखेर समस्या समाधान गर्नुपर्ने समेत उनको सुझाव थियो ।
यो गुनासो अमृत र नेगीको मात्र होइन, बन्दको बेला गाडी नपाएर ट्याक्सी चढ्न खोज्ने अधिकांश यात्रुहरुको गुनासो हो । यद्यपी, ट्याक्सी चालकहरुले बन्दको मौकामा यात्रुसंग बढी भाडा असुल्ने गरेको घटना भने नौलो होइन ।
नेपाल यातायात मात्र नभई राजधानीका अधिकांश सार्वजनिक यातायातका साधनहरु सोमबार चलेनन् । विगतका बन्दहरुलाई सरकारले नै अवज्ञा गर्नुपर्ने निर्देशन दिने गरेको भएतापनि सोमबारको नेपाल बन्दमा भने छिटफुछ बाहेक खासै गाडी चलेनन् । । आइतबार बेलुका राजधानीका पाँच स्थानमा विस्फोट भएपछि जनमानसमा त्रास फैलिएको थियाे । बन्दका कारण बालकुमारी देखि नक्साल हुँदै बालुवाटारबाट गोपिकृष्णसम्म चल्ने नेपाल यातायात ठप्प थिए ।
भक्तपुर यातायातका बस चालक गणेश बन्दको कारण सर्वासाधरण देखि गाडीचालकहरुको दैनिकीलाई समेत गम्भिर प्रभाव पार्ने बताउँछन् । सोही क्षेत्रमा सवारी चालक मनोज सुवेदी र सुवास तामाङले आफुहरु त्रसित हुँदै सवारी चलाइरहेको बताए । रिपोर्टिङको लागि त्यहाँ पुगेर फोटो खिच्दै गर्दासमेत आफुहरु डराएको मनोज र सुवास बताउँछन् । ‘के थाहा बसमा बम फालिदिने पो हुन् की ? परिवार भएको मान्छे त्रास त भइहाल्छ नी,’ उनीहरुले शंका ब्यक्त गरे ।
ट्राफिक महाशाखाका डिएसपी सुनिल जंग शाह भने उपत्यकामा बन्दको कुनै प्रभाव नपरेको बताउँछन् । दियोपोस्टसंगको कुराकानीमा डिएसपी शाहले कहिँकतै बाहेक सबै क्षेत्रहरुमा सामान्य ढंगले नै सवारी साधनहरु चलिरहेको बताए । उपत्यका बाहिरका सवारी साधनहरु समेत सामान्य ढंगले चलिरहेको उनको दाबी छ । उनले दाबी गरेपनि उपत्यकामा सार्वजनिक सवारी साधन निकै न्युन मात्रै चलेका छन् । आईतबारको विष्फोटनको घटनाले विप्लव समुहलाई भौतिक क्षती भएपनि नेपाल बन्दको कार्यक्रमलाई रणनीतिक सफलता दिलाएको छ । यद्धपी सर्वसाधरणले भने निकै सास्ती भोग्नु पर्यो ।
दिनभरिको बन्दको कारण सवारी साधन नचल्दा उपत्यकाका मुख्य मुख्य स्थान यस्तो देखियो