काठमाडौं, जेठ १६ । आज देखि १२ औं संस्करणको विश्वकप क्रिकेट प्रतियोगीता हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले गर्ने प्रतियोगीता ४६ दिनसम्म चल्नेछ ।
४६ दिनमा ४८ खेल हुने प्रतियोगीताको पहिलोि खेलमा आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतितष्पर्धा हुनेछ ।
यी दुवै टिमले अहिलेसम्म विश्वकप उपाधि जित्न सकेका छैनन् । आयोजक इंग्ल्यान्डसँगै यसपटक उपाधि दाबेदार टिमका रूपमा अस्ट्रेलियालाई समेत हेरिएको छ ।
पाँचपटकको च्याम्पियन अस्ट्रेलिया आफ्नो विश्वकपको सानदार छविलाई कायम राख्ने ध्याउन्नमा छ ।
आइसिसीले २७ वर्षपछि राउन्डरोबिन फर्म्याटमा एकदिवसीय विश्वकप आयोजना गर्न लागेको हो ।
प्रतियोगिताको ४४ वर्षे इतिहासमा दोस्रोपटक राउन्डरोबिन लिगका आधारमा अन्तिम चारको तय हुन लागेको हो ।
यसअघि १९९२ मा भएको विश्वकप क्रिकेटमा राउन्डरोबिन लिगका आधारमा प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा उपाधिका लागि १० टिम इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, अफगानिस्तान, बंगलादेश, न्युजिल्यान्ड, वेस्टइन्डिज, श्रीलंका, दक्षिण अफ्रिका र पाकिस्तान प्रतिस्पर्धामा रहनेछन् । प्रतियोगिता इंग्ल्यान्ड र वेल्सका ११ मैदानमा हुनेछन् ।
प्रतियोगिताको फाइनल लड्र्स मैदानमा १४ जुलाईमा हुनेछ । प्रतियोगिताको लिगचरण ६ जुलाईमा सम्पन्न हुनेछ भने सेमिफाइनलका खेल ९ जुलाईबाट हुनेछन् । पहिलो सेमिफाइनल म्यानचेस्टरमा र दोस्रो बर्मिङघम मैदानमा हुनेछ ।