
काठमाडौँ, जेठ १७ । भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले सपथ ग्रहणसंगै केही सदस्यसहितको मन्त्रीमण्डल विस्तार गरेका छन् । दोस्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले केही मन्त्रालयहरुमा पुराना मन्त्री हटाएर नयाँलाई जिम्मेवारी दिएका छन् ।
वि.स २०७२ सालको संविधान निर्माणका क्रममा भारतले विरोध गरेको र संविधानमा लेख्नुपर्ने बुँदाहरुमा हस्तक्षेप भएको कुरा नेपालको सबै संचारमाध्यमहरुले विशेष प्राथमिकता दिएर प्रकाशन गरेका थिए । तात्कालिन समयमा भारतीय विदेशमन्त्रीमा शुषमा स्वराज थिए । त्यतिबेलाका विदेश सचिव थिए एस जयशंकर । जयशंकर तिनै व्यक्ति हुन जसले नेपालमा संविधान घोषणाको मिति केही पर धकेल्न दबाव दिएका थिए ।
तात्कालिन सरकार र प्रमुख प्रतिपक्ष दलहरुले भारतको प्रस्तावलाई अस्वीकार गरे र दबावको वास्ता नगरि घोषित मितिमा नै संविधान जारि भयो । यसबाट रुष्ट बनेर भारतले अघोषित रुपमा नाकाबन्दी समेत गरेको थियो ।
खुल्ला सीमानाको कारण नेपालको राजनीतिक मामिलामा भारतले शुरुदेखि नै नियन्त्रण गर्दै आइरहेको कुरा हरेक नेपाली जनतालाई अवगत भएकै कुरा हो । नेपाल भारत सम्वन्धको बारेमा चर्चा भइरहँदा तात्कालिन विदेश सचिव जयसंकर मोदी सरकारमा विदेश मन्त्री भएलगत्तै विभिन्न प्रश्नहरु नेपाली राजनीतिमा उठिरहेका छन् । विदेश मन्त्रीमा जयशंकर आउनेबित्तिकै नेपालका राजनीतिज्ञहरुले नेपाल र भारतबिचको सम्बन्ध कस्तो होला भनेर परिकल्पना समेत गरेका छन् ।
पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भारतमा एस जयशंकर विदेशमन्त्री भएपछि नेपाल भारतको आगामी सम्बन्ध कस्तो हुन्छ भनि प्रश्न गरेका छन् । दुबै देशले पाठ सिकेर अगाडी बड्नुपर्ने भन्दै उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन् , ‘हाम्रा प्रम ओली भारतीय प्रम मोदीलाई दिल्लीमा वधाइ दिंदै नेपालको संविधान जारी हुने बेला नेपाल आएर चर्चामा रहेका तत्कालीन भारतीय विदेश सचिव एस् जयशंकर अहिले मन्त्री बनेकाले २ देश वीचको सम्बन्ध आगामी दिनमा कस्तो बन्ला स्वाभाविक जिज्ञासाको विषय बनेको छ१दुवै पक्षले पाठ सिकेर अघि बढौं ।’