काठमाडौं, जेठ १७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले अन्तर्राष्ट्रिय कल बाईपास गर्ने १ सय ६७ जना पक्राउ परेको तथ्यांक सार्वजनिक गरेको छ ।
ब्यूरोले आज काठमाडौंको महाराजगन्जमा पत्रकार सम्मेलन गरी अहिलेसम्म १ सय ८ ठाउँबाट १ सय ३० नेपाली र ३७ विदेशी गरी १ सय ६७ जनालाई पक्राउ गरी अदालतमा मुद्दा चलाईएको जनाएको हो । पक्राउ परेका उनीहरु विरुद्ध ११ अर्ब ९१ करोड रुपैयाँ बराबरको बिगो पनि दाबी गरिएको छ ।
उनीहरुबाट १ हजार ३ सय ७५ थान सिमकार्ड र कल बाईपासमा प्रयोग हुने उपकरण पनि बरामद भएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए ।
भारतीय नागरिक अन्सारी सार्वजनिक
ब्युरोले शुक्रबार नै अबैध रुपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने भारतको महाराजगन्ज थाना नौतनवा ग्राम सनौलीका खुर्सेद अन्सारीलाई सार्वजनिक गरेको छ । कल बाईपासमा प्रयोग भएका ल्यापटप, राउटर, सिमकार्ड, लगायत सामग्रीसहित उनी पक्राउ परेका हुन् ।