काठमाडौं, जेठ १७ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको निर्देशन पालना नगर्ने निर्माण व्यवसायीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।
मन्त्री महासेठले काममा ढिलाई गर्ने निर्माण व्यवसायीहरुको ठेक्का सम्झौंता खारेज गर्ने प्रक्रियालाई अघि बढाइको पनि बताए ।
शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले काममा ढिलाई गर्ने निर्माण व्यवसायीहरुलाई सचेत गराउन ७ दिने, १५ दिने सूचना जारी गरिएको पनि स्मरण गराए ।
मन्त्री महासेठले राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माण कार्य ४ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
मध्य पहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्गको निर्माण कार्य ४ वर्ष भित्र सम्पन्न हुने गरी अघि बढाइएको मन्त्री महासेठको भनाई छ ।
मन्त्री महासेठलले मध्य पहाडी राजमार्गको १३३ वटा पुल मध्ये ७० वटाको निर्माण कार्य सम्पन्न गरिएको तथा हुलाकी राजमार्गको २ सय १९ वटा पुल मध्ये ८० वटाको निर्माण कार्य सम्पन्न गरिएको पनि समितिलाई जानकारी गराए ।