काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन अघि राष्ट्रको नाममा संवोधन गर्ने क्रममा श्रमिकको तलब १५ हजार बनाउने घोषणा गरे । तर, प्रधानमन्त्रीको भाषणले श्रमजिवि मजदुरलाई अपमान गरेको भन्दै चौतर्फी विरोध भएको छ ।
माओवादी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाले प्रधानमन्त्रीको भाषण मजदुरको हित प्रतिकुल भएको भन्दै विज्ञप्ति निकालेका छन् ।
‘हाम्रो गौरवशाली संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)को प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा आइतबार भएको सम्बोधनप्रति गम्भीर ध्यानाकृष्ट भएको छ । प्रधानमन्त्रीद्वारा मजदुरको न्यूनतम पारिश्रमिक आगामी आर्थिक वर्षदेखि लागू हुने गरी १५ हजार पु¥याइने भन्ने घोषणा श्रम ऐन–२०७४ विपरीत रहेकाले सस्तो लोकप्रियताका लागि दलाल पूँजिपतिहरुको प्रत्यक्ष प्रभावमा परी १३२औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देशसँगै गरिएको पारिश्रमिकबृद्धि मजदुरको हित प्रतिकूल रहेकाले खेद व्यक्त गर्दछौं,’ उनले विज्ञप्तिमा भनेका छन्,‘श्रम ऐन २०७४ को दफा १०६ र १०७ बमोजिम न्यूनतम पारिश्रामिक निर्धारण नहुनुमा नेपाली दलाल पूँजिपतिहरुको गम्भीर षडयन्त्र रहेको थियो । र, पूँजिपतिहरुको षडयन्त्रलाई नै सहयोग गर्ने उद्देश्यले सरकारद्वारा गरिएको पारिश्रमिक बृद्धिको घोषणा नेपालको सिङ्गो श्रमिकवर्ग अस्वीकार गर्दछ ।’

आफूहरुले आजको बजारको अवस्था अनुसार नेपाली श्रमजिवीको न्युनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ र दैनिक पारिश्रमिक एक हजार रुपैयाँ बनाउन जोडदार माग गर्दै आएको बताउँदै २०७७ साउन साउन देखिकै मितिमा कार्यान्वयन गर्न माग गरे ।
सरकारकै उदासिनता र अनिच्छाले सरकारी कार्यालयहरुमै कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरु आजसम्म सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन सकेका भन्दै उनले आफ्नै कार्यालयमा कार्यरत कर्मचारी योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत नगर्ने वर्तमान सरकार दलाल पूँजीपति रोजगारदाताको घेराबन्दीमा रहेको आरोप लगाए ।