
काठमाडौं, २१ बैशाख । कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
वैशाख ३१ गतेसम्मका लागि जारी निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ ।
त्यस्तै, नवलपरासी (बर्दघाट–सूस्तापूर्व) मा आज मध्यरातबाट निषेधाज्ञा जारी गरिने भएको छ ।
जिल्लामा ३०० भन्दा बढी सङ्क्रमित पुगेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा लागू गर्ने भएको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले नवलपुरमा वैशाख २१ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म १५ दिन निषेधाज्ञा जारी गर्न सिफारिस गरेको हो ।
सोमबार मात्रै जिल्लामा ७७ नयाँ सङ्क्रमित फेला परेका छन् । योसहित नवलपुरमा कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ३४६ पुगेको छ ।
हुम्ला जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले आज राति १२ बजेदेखि २८ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले आदेशको पालना गर्न जिल्लाभरका सबैमा आग्रह गरेका छन् । रासस