महामारीमा केएमसी अस्पतालको ‘महालुट’ : कोरोनाको विरामीबाट एकैदिनको ३० हजार रुपैयाँ !

महामारीमा केएमसी अस्पतालको ‘महालुट’ : कोरोनाको विरामीबाट एकैदिनको ३० हजार रुपैयाँ !

काठमाडौं, २१ वैशाख । राजधानीको सिनामंगलमा रहेको केएमसी अस्पताल अर्थात काठमाडौं मेडिकल कलेजले चर्को शुल्क असुली गरेको पाइएको छ । अकुत सम्पत्ति आर्जनको मुद्दामा छानबीन समेत चलेका नेपाली कांग्रेसका नेता सुनिल शर्मा लगायत व्यक्तिद्वारा सञ्चालित यो अस्पतालले कोरोना महामारीको मौकामा महालुट मच्चाएको पाइएको हो ।

कलेजले कोभिड पोजेटिभ बिरामीहरुलाई उपचारका लागि क्याबिनको व्यवस्था गरेको छ । तर, शुल्क भने अस्वभाविक रहेको पाइएको छ । शर्माले केही दिन अघि कोरोना विरामीको निशुल्क उपचार गर्ने घोषणा गरेको समाचार आएको थियो ।

तर, त्यो सबै नाटक मात्रै रहेको पर्दा खुलेको छ । शुल्कसम्बन्धी सुचना अनुसार कोभिडका बिरामीलाई सिंगल बेड भएको क्याबिनमा राख्दा प्रतिदिन २० हजार रुपैयाँ शुल्क लाग्नेछ । त्यस्तै दुईवटा बेड भएको क्याबिनमा राख्दा प्रतिव्यक्ति हरेक दिन १० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ ।

त्यसैगरी डिलक्सका रुपमा तयार पारिएको कोभिड क्याबिनमा बसेर उपचार गर्नेका लागि प्रतिदिन २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । कलेजमा सुपर डिलक्स रुम पनि तयार गरिएको छ । जसको प्रतिदिन शुल्क ३० हजार रुपैयाँ छ ।

Trending News