विराटनगर, २२ बैशाख । सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । गए राति सुनसरीको इटहरीमा भएको सवारी दुर्घनामा परी एक प्रहरी जवानको मृत्यु भएको हो ।
पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो । को १ च ७८१६ नम्बरको पिकअपले को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान खड्कालाई उपचारका लागि पुर्याउनसाथ राति ९ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मृत घोषित गरेको जानकारी डीएसपी कार्कीले दिएक छन् ।
झापाको कचनकवल गाउँपालिका–६ घर भएका खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए । दुवै सवारी साधन र पिकअप चालक सहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको डीएसपी कार्कीले बताएका छन् ।