
काठमाडौं, २२ बैशाख । कोभिड–१९ को दोस्रो लहर मुलुकभर ब्यापक रुपमा फैलिन थालेपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षामा अन्योल थपिएको छ ।
२०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ ।
राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवालाले गरेका छन् ।
सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् ।
शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ ।
गत २०७७ साल वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा गत मङ्सिर–पुसबाट बल्ल कक्षाकोठाभित्र प्रत्यक्ष पठनपाठन थालियो ।
बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो तर सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन ।
त्यस्तै कक्षा १२ को पठनपाठन सुरु भएको छ महिना पनि भएको छैन । यसले गर्दा कक्षा १० र १२ को सबै कोर्स पूरा भइसकेको छैन ।
दुर्गमका कतिपय विद्यालयमा विज्ञान र गणित विषयको कोर्स ६० प्रतिशतसम्म सकिएको अवस्था छ ।
गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो । गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तयारी गरेका थिए ।
तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहो¥याएर अभ्यास गर्न त टाढाकै कुरा कोर्स नै पूरा हुन सकेको छैन ।
गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।
पाठ्यक्रम विकास केन्द्रका पूर्व कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले महामारीमा परीक्षा लिनै पर्छ भन्नेमा बौद्धिक तर्क नरहेको बताए ।
उनले भने, “सामान्य स्थितिमा साविककै विधि अपनाऔँला तर महामारीमा गत वर्षकै जस्तो विधि अपनाउन सकिन्छ ।
चार, पाँच महिना त कक्षाकोठामा अध्यापन गरेकाले शिक्षकले विद्यार्थीको ल्याकत बुझेका छन् । त्यसैका आधारमा मूल्याङ्कन गर्न सकिन्छ तर शिक्षक इमान्दार हुनुपर्दछ ।”
नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले परीक्षालाई दुई महिना धकेल्नु उपयुक्त हुने तर्क प्रस्तुत गर्दै थपे , “छापिएका प्रश्नपत्र विद्यालयलाई नै उपलब्ध गराऔँ । विद्यालयले उपलब्ध साधनस्रोतका आधारमा उपयुक्त लागेको विधिबाट परीक्षा लिन्छ । उसैले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा तयार गर्नेछ ।”