
काठमाडौं, २३ वैशाख । पछिल्लो समय डोटी जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ ।
जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना सङ्क्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन् ।
चालकले सङ्क्रमित बिरामी बोक्न नमान्ने गरेपछि जिल्लामा समस्या उत्पन्न हुन थालेको छ । कोराना भाइरसका सङ्क्रमित बिरामीलाई बोक्नका लागि डोटी जिल्लाका एम्बुलेन्स चालक अनिच्छुक देखिएको आरोप लागेको छ ।
कोरोना सङ्क्रमित बिरामीका आफन्तहरुले फोन गर्दा चालकले आफूहरुसँग कोरोनाबाट जोगिने कुनै पनि सुरक्षा सामग्री नभएका कारण बोक्न नसक्ने भन्दै आलटाल गर्ने गरेको स्थानीयवासी हर्कबहादुर धामीले बताए ।
उनी भन्छन् , “कोरोना सङ्क्रमित बिरामी लैजान एम्बुलेन्स चालकलाई फोन गर्दा कुन बिराम भएको हो भन्छन्, कोरोना भनेपछि बोक्नै मान्दैनन् ।”
एम्बुलेन्स चालकहरुले नै कोरोना सङ्क्रमित बोक्न नमान्ने गर्न थालेपछि यहाँका गाउँघरमा बिरामी भएकाहरुलाई जिल्ला सदरमुकामका अस्पताल तथा जिल्लाबाहिर लैजान निकै समस्या हुन थालेको स्थानीयवासीको गुनासो छ ।
कोभिड नियन्त्रणसम्बन्धी न्यूनतम सुरक्षा तथा सावधानी नभएको अवस्थामा एम्बुलेन्समा बिरामी बोक्न समस्या रहेकाले बोक्न केही असहज भएको एम्बुलेन्स चालकहरुको भनाइ छ ।
कोरोना सङ्क्रमित बिरामीलाई बोक्नलाई कुनै पनि सामग्री नभएका कारण समस्या हुँदै आएको र बिना सुरक्षा बिरामी बोक्न नसकिने केआइसिंह गाउँपालिकाका एम्बुलेन्स चालक खगेन्द्र बोगटीले बताए।
उनी भन्छन् , “सुरक्षा सामग्री छैन, हामी हाम्रो ज्यान खतरामा राखेर बिरामी ओसार्न सक्ने पक्षमा छैनौँ । सुरक्षा र सावधानीबिना काम गर्न कसरी सकिन्छ ।”
अधिकांश एम्बुलेन्स चालकले आफ्नो सुरक्षाको कारण देखाउँदै बिरामी बोक्न अस्वीकार गरेका छन् ।
उता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्दैन भन्न नमिल्ने र त्यसो गरेको प्रमाणित भए कारवाही हुने बताए ।
उनी घन्छन् , “एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्दिन भन्न कुनै हालतमा पनि पाउँदैनन, आफ्नो सुरक्षा सावधानी अपनाएर समस्या परेका बखत बिरामी बोक्नै पर्छ ।” रासस