नुवाकोटदेखि हिँडेरै काठमाडौं आएका ७२ वर्षिय बृद्धको दुख : ठेकेदार बेपत्ता भएपछि छिँडीको बास !

दियोपोस्ट संवाददाता

काठमाडौं, २५ वैशाख । झोलाको सिरानी र पातलो एउटा कपडाको तन्ना चिसो भइँमा एक सरो बिछ्याइएको छ । त्यही ओछ्यानमा ढाका टोपी लगाएको एउटा बृद्ध शरिर शनिबार विहानै करिब ५ बजेतिर टोलाइरहेका थिए । थापाथलीचोकबाट पुलचोक तर्फ पुल नपुग्दै एउटा घरबाहिरको चिसो छिडीमा रात काटेर उनी भर्खरै ब्युझिएका थिए सायद । ‘कहाँबाट आउनुभयो बुवा, ?’

दियोपोस्टकर्मीले यो यो प्रश्न गरेपछि उनी एकैछिन् घोत्लिए ।


‘नुवाकोटबाट एक दिन हिँडेर यहाँ आएँ । बेलुका खाना पाइन्छ रे भनेर थापाथली आएँ । राती कहाँ जाने यहीँ सुतेँ,’ उनको उत्तर थियो ।


कोरोना भाइरस संक्रमण बढेपछि सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण सात दशक उमेर पार गरिसकेका उनको नाम रामशरण पुन मगर रहेछ । गाउँकै ठेकेदारले आजभन्दा २ महिनाअघि घर बनाउने काममा लगाइदिन्छु भन्दै बागलुङ बसपार्क घर भएका उनलाई नुवाकोट पुर्याइएको रहेछ । तर, २ महिनासम्म दिनरात भात पकाउने काम लगाएपछि ठेकेदार बेपत्ता भएको उनको गुनासो छ ।


‘मलाई १०÷१२ जना मान्छेका लागि भात पकाउन भनेर ठेकेदारले बागलुङबाट २ महिनाअघि नुवाकोट लगेको हो । उसले घर बनाउने ठेक्का लिएको थियो । ठेकेदारको नाम सुवर्ण पुन मगर हो,’ उनले सुनाए,‘खोई ठेकेदार अहिले कहाँ छ कहाँ छ । तलब पनि दिएन । त्यही नदिएर यो हालत भयो ।’

उनका अनुसार ठेकेदारले तलब र पारिश्रमिक नदिएपछि सबै मजदुरको विचल्ली भएको छ । राशन पानी नै नभएपछि आफू नुवाकोटको छहरेदेखि हिँडेरै काठमाडौं आएको उनले सुनाए ।
‘ठेकेदार भए पो राशन पानी निकालिदिन्छ । ठेकेदार नै बेपत्ता भएपछि हामीले के खाने ? खाने समस्या भएपछि हिजो दिउँसो नुवाकोटबाट हिँड्यौँ,’ उनले भने,‘टोखासम्म बेलुका आइपुगेँ । विस्तारै हिँडेर हिँजो साँझ नै यहाँसम्म आएँ । बस चल्दैन गाडी चल्दैन ।’


एउटा पछ्यौराको सहारामा चिसो छिडीमै रात कटाएको उनले बताए । ‘एउटा तन्ना जस्तो पातलो लुगा ओछ्याएँ । एउटा पछ्योरा थियो । त्यसैले रात कटाएँ,’ रामशरण सुनाउँछन्,‘खोकी अलिअलि लागेको छ । खासै ठूलो रोग छैन ।’

चिसो छिडीमा रात काटेका उनी नजिकै निशुल्क उपलब्ध हुने खाना खाने बताउँछन् । ‘ऊ त्यहीँ तीन जना हुनुहुँदो रहेछ । उहाँहरुले निशुल्क खाना दिनुहुन्छ । उहाँहरुले आलोपालो खुवाउने रहेछ । दालभात तरकारी र अचार दिइएको छ,’ उनले सुनाए ।


बागलुङको घरमा छोराले पनि हेला गरेपछि आफूले घर छाडेर हिँडेको बताउने उनको १० वर्षअघि नै श्रीमतीको मृत्यु भयो । ‘१० वर्षजति पहिले श्रीमती बितिन् । २२ वर्षको छोरो छ । तर उसले पनि नहेरेपछि म घर छोडेर हिँड्नु पर्यो,’ मगरको दुखेसो छ,‘छोरोले पनि नहेरेपछि कहाँ जानु । एक्लो ज्यान पाल्न भनेर काम खोज्दै नुवाकोट गएँ । त्यहाँ पनि ठेकेदार बेपत्ता भए ।’

‘बागमति पुल नजिकै खाना बाढेको छ रे’ भन्ने पत्रिकाको खबर साथीहरुले सुनाएपछि उनी थापाथलीमा आएका रहेछन् । ‘काम गर्ने ठाउँमै एउटा केटोले पत्रिका देखाएर यस्तो छरे भन्ने सुनायो । त्यसो भए हामी पनि जाउँ भनेर हामी आएका हौँ । निशुल्कमा खाना दिन्छ रे । बागमति पुल नजिकै यतापट्टि प्रसुतीगृह निर भन्ने सुन्यौँ,’ रामशरणले भने,‘अनि हामी नुवाकोटबाट छोटो बाटो हिँडेर एकदिनमा काठमाडौं आइपुग्यौँ ।’


थापाथलीमा सुतिरहेको स्थानमा एक अज्ञात व्यक्ति आएर खाना खाने ठाउँ देखाइदिएको उनले बताए । शनिबार उनी खाना खानका लागि ६ बजेदेखि नै प्रसुतिगृह अगाडी कुरेर बसिरहेका थिए । ‘खानै नपाएपछि त अब कुर्नै पर्यो । उहाँ कसले खाना दिन्छ र बस्ने ?’ प्रश्न गर्दै उनी भन्छन्,‘काम गर्दागर्दै मान्छेले खान पाएको छैन । जुन दिनुपर्ने ठेकेदार नै भागेपछि कसले दिन्छ र खाना ।’


उनीसँगै आएका उनका साथीहरुले पनि उकालो बाटोमा छाडेर हिँडेको रामशरण सुनाउँछन् ।

‘म बुढो मान्छे । पढ्न लेख्न जान्दिनँ । म सँग कसैको नम्बर छैन । ठेकेदारको नम्बर पनि छैन । मसँगै आएका ठिटा मान्छे उकालोबाटोमा छाडेर हिँडे,’ लठ्ठी देखाउँदै उनी भन्छन्,‘अलि छिटो हिँड्न यही लठ्ठीको सहारा लिनुपर्छ ।’