मनाङेले लिए युवा तथा खेलकुद मन्त्रीको सपथ

दियो पोस्ट  

काठमाडौं, ९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले सपथ लिएका छन ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा आइतबार नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ ग्रहण गराएकी हुन ।

मुख्यमन्त्री गुरुङले दिपक मनाङेसहित ५ मन्त्रीलाई जेठ ५ गते नियुक्त गरेका थिए । सोही दिन अन्य ४ जना मन्त्रीले सपथ लिएका थिए ।

तर, मनाङे काठमाडौं भएकोले सपथ लिन पाएका थिएनन् । मुख्यमन्त्री गुरुङले धरापमा परेको आफ्नो सत्ता बचाउनका लागि गत वैशाख १६ गते मनाङेलाई सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय छुट्याएर पहिलोपटक मन्त्री बनाएका थिए ।

मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएको १० दिनमा राजीनामा दिएपछि उनको दश दिनमै पद गएको थियो ।

दश दिनमा पद गुमाएका उनै मनाङेलाई दोश्रो पटक निरन्तर मन्त्री बनाइएको हो । सपथ ग्रहणलगतै मन्त्री गुरुङले मन्त्रालयमा पुगेर पदभार ग्रहण समेत गरेका छन ।

योसहित उनले दोश्रो पटक गण्डकी प्रदेश सरकारमा यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन ।