काठमाडौं, ११ जेठ । एम्बुलेन्समा गाँजा ओसार्ने दुई जना पक्राउ परेका छन्।
सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर २ रत्नरोडस्थितबाट प्रहरीले एम्बुलेन्सबाट एक सय किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
सोमबार बेलुका ७ बजे अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सलाई चेक गरेको थियो।
प्रहरीले सो एम्बुलेन्सबाट २५–२५ किलोको ४ वटा झोलामा गाँजा बरामद गरेको हो।
एम्बुलेन्स चालक धरान, १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान, ११ बस्ने २८ वर्षीय पोशन राईलाई पक्राउ गरेको छ।
उनीहरूमाथि ईलाका प्रहरी कार्यालय धरान सुनसरीले थप अनुसन्धान भइरहेको बताएको छ।