दलित परिवारमाथिको आक्रमणप्रति दलित पत्रकार संघ चितवनद्वारा भत्सर्ना, पीडकलाई कानुन बमोजिम कारबाहीको माग

दियो पोस्ट  

जेठ १३, काठमाडौँ । यही जेठ ११ गते मंगलबार पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ९ स्थित दलित परिवार माथि भएको जातीय भेदभाव र कुटपीट सम्बन्धी घटनाको राष्ट्रिय दलित पत्रकार संघ- नेपाल, जिल्ला कार्यसमिति चितवनले घोर भत्सर्ना गरेको छ । संघका जिल्ला अध्यक्ष अमिर रामदामले एक प्रेस बिज्ञप्ती जारी गर्दै घटनाका आरोपीलाई कानुन बमोजिम कारवाही र पीडितलाई न्यायको माग गरेका छन् ।

आज जारी गरिएको प्रेस बिज्ञप्तीमा भनिएको छ, “यतीबेला नेपाल (कोभिड १९) कोरोना महामारीको दोस्रो भेरियन्टको चपेटामा छ । कोभिड नियन्त्रणका लागि भन्दै नेपाल सरुकारले एक महिना देखि निरन्तर लकडाउन र निषेधाज्ञा जारी गरेको छ । चितवन जिल्ला पनि यस संक्रमणबाट अछुतो रहन सकेन । यस्तो विषम परिस्थितिमा संक्रमणको भय र त्रासका बीचमा सबै जिल्लाबासीहरु दुरी कायम गर्दै आ-आफ्नो घरमा बसेको अवस्था छ ।

तर आम शोषित पीडित दलित समुदायलाई भने कोभिडको कहर भन्दा पनि जातीय बिभेदको कहरले वर्षौदेखि पीडा दिइरहेको छ । यसको पछिल्लो ज्वलन्त उदाहरण हो चितवनमा भर्खरै दलित परिवार माथि भएको जातीय बिभेद र कुटपीटको घटना । मिति २०७८ जेठ ११ गते मंगलबार चितवन जिल्ला राप्ती नगरपालिका वडा नं ९ का सेते श्रेष्ठ र उनकी श्रीमती चिनीमाया श्रेष्ठले सोही स्थानकी कल्पना परियार र उनका छोरा छोरा अमृत परियार माथि जातीय गाली गलौज गर्दै कुटपीट गरेको घटना प्रति यस राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवनको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालमा जातीय भेदभाव, छुवाछुत (कसुर र सजाँय)ऐन २०६८ समेत पारित भएको एक दशक बिति सकेको छ । साथै नेपालको संबिधानको धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकको सुनिश्चित गरिएको छ । संबिधानको धारा १६ मा सबै नागरिकहरुले सम्मानपूर्वक बाँच्न पाउने हकको ब्यवस्था गरिएको छ । त्यती मात्र होइन, संबिधानको धारा ४० मा दलितको हकको बारेमा उल्लेख छ । तर चितवनको यस घटनाले दलितहरुको स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने हक, दलितको हक र छुवाछूत तथा भेदभाव विरुद्धको हक अधिकारलाई कुण्ठित मात्र गरेको छैन संबिधान र कानुनको समेत धज्जी उढाइएको छ । यस्ता खाले अमानवीय तथा कानुन बिपरित कार्य जो कसैले गर्छ उसलाई कानुन बमोजिम कारबाही हुनै पर्छ । चितवनको यो घठनाको जति निन्दा गरे पनि कमै हुन्छ । त्यसैले यस्ता खाले गंभिर अपराधमा संलग्न ब्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाहीको जोडदार माग गर्दछौँ ।

साथै पीडित परिवारलाई न्याय, संबिधानको धारा १६ बमोजिम सम्मान पूर्वक बाँच्न पाउने हक, धारा १८ बमोजिम समानताको हक, धारा २४ बमोजिम छुवाछुत तथा भेदभाव विरूद्धको हकको सुनिश्चितता र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय० ऐन २०६८ अनुसार कडा भन्दा कडा कारवाहि गर्न जोडदार माग गर्दछौं।

घटनामा घाइते परिएका पीडित अमृत परियारको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै, यस्ता दुर्व्यवहारको घटना पुनः नदोहोरियोस् र घटनाप्रति संवेदनशील बन्न प्रहरी प्रशासन सहित सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अपिल गर्दछौँ ।”

स्थानीय सेते श्रेष्ठ र उनकी श्रीमती चिनीमाया श्रेष्ठले जातीय गालीगलौज गर्दै सोही वडाकी कल्पना परियार र उनका छोरा अमृत परियारलाइ निर्घात कुटपीट गरेको घटना सार्वजनिक भए पछि त्यसको सर्बत्र निन्दा र बिरोध गरिएको छ ।

सिफारिस