काठमाडौं, १४ जेठ । बेलायत सरकारले नेपालला २६० वटा भेन्टिलेट ( 130, C-PAP +130 Bi PAP ) भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा 19, 200 फेस शिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गरेको छ।
नेपालमा कोभिड(१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम विमानमार्फत् बिहीबार उक्त सामग्री नेपाल पठाएको हो ।
NepalMed UK बाट प्राप्त गैरआवसीय नेपाली संघ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सेन्ट्रेटरहरु पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाइएको लण्डनस्थित नेपाली राजदूतावासले बिहीवार जनाएको छ ।
अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सहयोगका लागि दूतावासले बिभिन्न तरिकाले पहल गरिरहेको छ।
विशेषगरी द्विपक्षीय सहयोग अन्तर्गत अथवा कोभ्याक्स अन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराइदिने विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्रीरी तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेका छन्।
अत्यावश्यक सहयोग सामग्री खोप जुटाउनका लागि बेलायत सरकार, बेलायती संसदका सदस्यहरु, गैरआवासीय नेपाली संघ, बिभिन्न नेपाली संघसंस्थाहरु तथा बेलायती गैर सरकारी च्यारिटी संस्थाहरूसँग भेटघाट, छलफल तथा समन्वय भइरहेको छ।
यसैगरी बेलायतस्थित गैर आवासीय नेपाली संघले पनि ‘अक्सिजन पठाऔँ – नेपालीको ज्यान बचाऔँ’ अभियान अन्तर्गत नेपालको सहयोगको लागि दुई करोड ४० लाख भन्दा बढी सहयोग संकलन गरिसकेको छ ।
गत मे १५, मा बेलायतका लागी नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्य र उप नियोग प्रमुख श्रीमती रोशन खनाल समेतको विशेष उपस्थितिमा एनआरएन यूकेको संयोजन एवं बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, संरक्षक परिषद, आइसीसी सदस्यहरु तथा पदाधिकारीहरूको बृहत बैठक सम्पन्न भएको थियो ।