
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिका–१० प्रचिलवास्थित सडकमा प्रदेश २–०१–००१ त १३२५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरको चक्काले किच्दा ट्याक्टरमा सवार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने बिश्वासी शर्माकी छोरी ८ वर्षीया रागनी कुमारी शर्मा रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका–२ तेधरीमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने ५५ वर्षीया ईशारा देवी धामी रहेकी छिन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । ठक्करमा संलग्न हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
साथै भोजपुरको हतुवागढी गाउँपालिका–१ जोगीखेतस्थित सडकमा को.१ त ९०४२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–६ होम्ताङ बस्ने २२ वर्षीय बलराम बिक रहेका छन् । ट्याक्टरबाट दुर्घटना हुँदा उनको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी मोरङको जहदा गाउँपालिका–३ ब्राहमाटोलमा को.३ प ३६ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका–२ बस्ने ४५ वर्षीया राजो देवी साह रहेकी छिन् । मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित सडकमा रोकी राखेको प्रदेश २–०३–००१ क ००७२ नम्बरको टिपरमा प्रदेश २–०३–००६ प ६५५१ नम्बरको मोटरसाइकल ठक्करबाट दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ बस्ने ४१ वर्षीय सुरज चालिसे रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।