काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित विद्यालयको छात्रवासमा १२ वर्षीय बालक मृत फेला परेपछि मृतकका आफन्तले विद्यालय बन्द गरेका छन्।
इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)को छात्रवासमा बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ का अभिषेक तामाङ गत बिहीबार मृत फेला परेका थिए। कक्षा ५मा अध्ययनरत तामाङ झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
तर मृतकका आफन्तले यो घटना आत्महत्या नभई हत्या भएको दाबी गर्दै विद्यालय बन्द गराएका हुन्। त्यसदिन यता विद्यालय खुलेको छैन। आफन्तले विद्यालयसँगै प्रहरी वृत्त सोह्रखुट्टे समेत घेराउ गरेका छन्।
आफन्त पूर्णिमा तामाङले बालकको शरीरमा निलडाम कसरी देखियो भन्दै प्रश्न समेत गरेकी छन्।
पूर्णिमा विद्यालय नजिकै बस्छिन्। बिहीबार घटनाबारे खबर पाउन बित्तिकै उनी छात्रवास पुगेकी थिइन्। त्यतिञ्जेल प्रहरी र शिक्षकहरू जम्मा भइसकेका थिए।
अन्य आफन्तहरूले पनि अभिषेकको हत्या नै भएको दाबी गर्छन्। अभिषेककी सानी आमा निष्मा प्रत्येक हप्ताजसो उनलाई भेट्न जान्थिन्। विद्यालयले छोटो समयमा भेट्न नआउनु भनेपछि उनले कम गरेकी थिइन्।
मासिक शुल्क तिर्न पनि पूर्णिमा र निष्मा पालैपालो जान्थे। मासिक शुल्क बुझाउने शिलशिलामै घटना हुनु तीन दिनअघि मात्रै निष्माले अभिषेकसँग भेटेकी थिइन्।