काठमाडौं । विभिन्न अनलाइन माध्यमबाट रकम ट्रान्सफर गर्न सिकाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका–७ का मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोटी रहेका छन् ।
पीडितसँग चिनजान गरी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भन्दै फरक ब्यक्तिको फोटो राखी ईसेवा तथा खल्ती वालेटहरु खोली विभिन्न बहानामा मोबाइल बैंकिङमा पहुँच पुर्याई खाताबाट अन्यत्र बैंक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईनमार्फत ठगी गरेको प्रहरीले जनाएको छ ।
उक्त कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।