छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ३ जना पब्राउ परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–७ सुनौला बजार बस्ने २२ वर्षीय कृष्ण बहादुर खड्का रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीको टोलीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना.४ ख ६३५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी शनिबार बिहान पक्राउ गरेको हो ।

यसैगरी सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित दस गजाबाट अवैध लागूऔषध गाँजा करिब १० केजी ५ सय ग्रामसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोही नगरपालिका–३ बस्ने ४० वर्षीय रामअधिन राय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०६ एजेड ७९५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी शनिबार बिहान पक्राउ गरेको हो ।

साथै बर्दियाको बाँसगढी नगरपालिका–८ ककौरा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ४० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–८ धनैयाटोल बस्ने २९ वर्षीय संजिव चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी शुक्रबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।