कैलालीमा बुहारीको हत्या, सासू–ससुरा पक्राउ

दियो पोस्ट  

कैलाली । कैलालीमा आफ्नै बुहारीको हत्या गरेको आरोपमा सासु र ससुरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ५२ वर्षीय ससुरा डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया सासु लहरी बुढा रहेका छन् । उनीहरुले आफ्नै बुहारी २७ वर्षीया कबिता बुढा(कौशी)को हत्या गरेका आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

कबिता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीको टोलीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका–१ केदारेश्वर सामुदायिक बनस्थित सुख्खा नालाको खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो । घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहु खोज्दै बिवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कबितालाई डिल्लीले टाउकोमा चिरपटको दाउराले प्रहार गरी हत्या गरेका थिए । हत्या गरेपछि डिल्ली र उनकै श्रीमती लहरी मिलेर लाशलाई डोकोमा हाली उक्त बनमा लगि गाडेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि लहरीलाई गत मंगलबार प्रहरीले पक्राउ गरेका छन् । घटना भएपछि फरार रहेका डिल्लीलाई भजनी नगरपालिका–३ सीमावर्ती क्षेत्रबाट शनिबार प्रहरीले पक्राउ गरेको हो ।

साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका–४ बस्ने ४१ वर्षीय जयबीर बुढालाईसमेत प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।