कैलालीको छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । कैलालीको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–७ बसन्ताबाट अवैध लागूऔषध खैरो हेरोइन ३८ ग्राम ४ सय ८० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने ५४ वर्षीय सुकानु चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीको टोलीले रामपुरबाट हसुलियातर्फ आउँदै गरेको से.७ प २५०४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी शनिबार दिउँसो उनलाई पक्राउ
गरेको हो ।

साथै जिल्लाकै धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ६० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर पुनर्वास नगरपालिका–११ बस्ने ४२ वर्षीय
विक्रम सुवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीको टोलीले उक्त ब्राउन सुगरसहित फेला पारी उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।

यसैसाथ जिल्लाकै टिकापुर नगरपालिका–४ अस्नेरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १५ वर्षीय किशोर र सोही नगरपालिका–२ अस्नेरी बस्ने २३ वर्षीय गणेश कार्की रहेका छन् । १५ वर्षीय किशोरको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीको टोलीले उनको घर तालसी गर्ने क्रममा कोठामा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी शनिबार साँझ पक्राउ गरेको हो ।