झापामा अवैध लागूऔषधसहित ५ जना पक्राउ

दियो पोस्ट  

झापा । झापामा अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको मेचिनगर नगरपालिका–१२ स्थित कालिझोडा जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन ५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–७ मिया बस्ती बस्ने १९ वर्षीय महमद आरिफ रहेका छन् । उक्त जंगलमा लागूऔषध खैरो हेरोइनको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीको टोलीले जाँच गर्दा उक्त पदार्थसहित उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न झापाको अर्जुनधारा नगरपालिका–११ स्टाफ चौक बस्ने २० वर्षीय प्रदिप दर्जीलाई लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्रामसहित पक्राउ परेका छन् । सोही जिल्लाको मेचीनगर नगरपालिका–१३ बस्ने २८ वर्षीय धन बहादुर महतारा र बिर्तामोड नगरपालिका–१० सैनिक बजार बस्ने २४ वर्षीय सन्दिप लाम्गादेलाई लागूऔषध ब्राउनसुगर ८ सय मिलिग्रामसहित पक्राउ परेका छन् । साथै भारत दार्जिलिङ खोरिवारी ठाना बस्ने ३२ वर्षीय राजेन्द्र बर्मनलाई अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम र नगद २७ हजार ५० रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।