काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–२ बुद्ध चोकस्थित सडकमा ज.४ प २३५१ नम्बरको मोटरसाइकल ज.१ त १७४३ नम्बरको ट्याक्टरमा ठोक्किदा शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–२ बस्ने ६० वर्षीय ताहिर अंसारी रहेका छन् । दुर्घटनामा गम्भीर घाईते भएका उनको बर्दिबासस्थित सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी तनहुँको आबुखैरेनी गाउँपालिका–५ रसौलीस्थित सडकमा ग.३ क ३९७४ नम्बरको स्काईभेटर सडकदेखि करिब १५ सय मिटर तल खोचमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा स्काइभेटरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बस्ने २५ वर्षीय खेमराज चलाउने रहेका छन् । हाल फरार स्काईभेटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
साथै मोरङको बेलबारी नगरपालिका–३ स्थित वन कार्यालय नजिक सडकमा ना.४ ख ६१३८ नम्बरको टयाङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कालीकोटको शुभकालिका गाउँपालिका–६ चिसापानीस्थित बेहुली पान्तडी सडकमा लु.१ च ८४९८ नम्बरको जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–२ भर्ता बस्ने ३० वर्षीय हर्के कामीसहित ३ जना रहेका छन् ।
साथै रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ शान्तिकुन्जस्थित सडकमा बा.२० च १४३८ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका–८ बस्ने ३२ वर्षीय विकास श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह हस्पिटल बुटवलमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
यसैसाथ धादिङको धुनिवेशी नगरपालिका–९ सिक्रखोलास्थित सडकमा बा.५४ प ३२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ खत्रीपौवा बस्ने ३५ वर्षीय ज्ञान बहादुर लामा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।