छुट्टाछुट्टै ठाउँमा ३ जनाको डुबेर मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा ३ जनाको खोलामा डुबेर मृत्यु भएको छ । दैलेखमा एक जना बालकको खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डुङगेश्‍वर गाउँपालिका–१ खाडा बस्ने बल बहादुर खड्काको छोरा ९ वर्षीय गणेश बहादुर खड्का रहेका छन् । उनको सोही ठाउँस्थित लोहोरे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी सुर्खेतमा एक जना बालकको तालमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुर्भाकोट नगरपालिका–३ स्थित बस्ने थल बहादुर बुढामगरको छोरा १४ वर्षीय कबि बुढामगर रहेका छन् । सोही ठाउँस्थितको भेरी नदिको किनारमा रहेको धारापानी रह तालमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

साथै काभ्रेमा एक जना बालकको खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भुम्लु गाउँपालिका–९ बस्ने ज्याम्दी सुर्ता लामाको छोरा ११ वर्षीय सिम्पल लामा रहेका छन् । आफ्नै घर नजिकै रहेको चाखोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।