
काठमाडौं । अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भु मार्गस्थित मोरङ–बेलबारी गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १ सय ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरानस्थित भानुचोकमा तरकारी व्यापार गरी बस्ने भारतीय नागरिक २७ वर्षीय हेमन्त कुमार भगत रहेका छन् । उक्त गेष्ट हाउसमा लागूऔषधको कारोबार भएको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीको टोलीले पदार्थसहित फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ गर्ने क्रममा निजले प्रहरीमाथि नै बल प्रयोग गरी धक्का मुक्का तथा आक्रमण गर्दै प्रहरी कर्मचारीको पेस्तोल खोस्ने प्रयास गरी भाग्न खोज्दा प्रहरीले जवाफी फायर गर्दा बायाँ खुट्टाको घुँडामुनी गोली लाग्न गई घाइते अवस्थामा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घाइतेलाई तत्काल काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गरी थप उपचारको लागि त्रि.बि. शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिस भास्कुलर ट्रिटमेन्ट सेन्टरमा लगि उपचार भइरहेको छ ।
यसैगरी काठमाडौंकै चन्द्रागिरी नगरपालिका–२ स्थितबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ एम्पुल, बुप्रेनुर्फिन ७ एम्पुल र फेनारगन ७ एम्पुलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेका मोरङ पथरी शनिश्चरे नगरपालिका–७ बस्ने २६ वर्षीय नितेश राई रहेका छन् । काँकडभिट्टादेखि काठमाडौं आउँदै गरेको प्र २–०३–००१ख १०११ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुँगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी आइतबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।