छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थामा अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । झापाको विर्तामोड नगरपालिका–१ भगवान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–४ बस्ने ३३ वर्षीय बब्लु शिवाकोटी रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी आइतबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी नवलपरासी(पूर्व)को गैंडाकोट नगरपालिका–७ बाट नियन्त्रित लागूऔषध नुफिन १ सय ७८ एम्पुल, फेनारगन १ सय ७९ एम्पुल, सेरिज्याक १ सय ८४ एम्पुल र नगद ५ पाँच लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय सुजन विक रहेका छन् । विकको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीको टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध र नगदसहित फेला पारी उनलाई आइतबार राति पक्राउ गरेको हो ।

साथै पर्साको वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका–३० बस्ने २१ वर्षीय ओहाव हुसैन अन्सारी रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीको टोलीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी आइतबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० सानो सुर्खेतबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५६ वर्षीय लाल बहादुर थापा रहेका छन् । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त गाँजासहित फेला पारी आइतबार राति पक्राउ गरेको हो ।

साथै बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया बाँसगढि नगरपालिका–७ बस्ने ३० वर्षीय मनोज विक रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी आइतबार राति पक्राउ गरेको हो ।                                                                                                                                                                                                                                                                                                                                                          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।