काठमाडौं । विभिन्न स्थानमा अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् भने ४ जना फरार छन् । बाराको निजगढ नगरपालिक–८ स्थितबाट बा.५ ख २८६० नम्बरको बसमा अवैध लागूऔषध गाँजा करिब १० केजीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बसमा सवार सर्लाही बिष्णु गाउँपालिका–३ बस्ने ४९ वर्षीय बिरेन्द्र चौधरी र बस चालक चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने ४३ वर्षीय गिर बहादुर बिकसहित ३ जना रहेका छन् । ईलाका
प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीको टोलीले उक्त बसलाई जाँच गर्ने क्रममा बस चालक बिकसहित उनीहरुलाई गाँजासहित फेला पारी मंगलबार बिहान पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–२ बंक बस्ने २० वर्षीय बिबेक साउँद रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त लागूऔषधसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
साथै पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ स्थित डेउरी खेतबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १२ केजी २ सय ३० ग्राम र चरेस जस्तो देखिने पदार्थ २० केजी ८० ग्राम प्रहरीले बरामद गरेको छ । प्रहरीलाई देख्नासाथ भतौरबाट डेउरीतर्फ पैदल जाँदै गरेका ४ जनाले टाउँकोमा बोकी ल्याउँदै गरेको २ वटा बोराको पोका फाली फरार भएका छन् । प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीको टालीले सोही बोरा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी मंगलबार दिउँसो बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।