आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का दोषी ठहर

दियो पोस्ट  

काठमाडौं। नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएका थिए ।

विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार खड्कालाई १ वर्ष ३ महिना कैद सजाय र ९ करोड १९ लाख ६ हजार ६३४ रुपैंया ६४ पैसा जरिवाना र सोही बराबर बिगो तोकिएको छ । उनी डिभिजन सडक कार्यालयको प्रमुख हुदा अनियमिततामा मुछिएका थिए । उनी कार्यकारी निर्देशक भएकै बेला नेपाल आयोग निगमको जग्गा अनियमितता प्रकरण भएको थियो ।

प्रवक्ता योगीले भने, ‘अख्तियारले खड्काको घर, जग्गा, बैंकमौज्दात र शेयर जफत गर्न मागदाबी लिएको थियो । त्यो सबै जफत गर्ने आदेश भएको छ । खड्काको सम्पत्ति लुकाएको आरोप लागेका शर्मिला खड्का र अंकिता लामाको नाममा ३ कित्ता घरजग्गा रहेकोमा ती समेत विगोको हदसम्म जफत गर्ने आदेश दिएको छ ।