गर्मीका कारण दिल्लीमा बझाङका एक पुरुषको मृत्यु

दुई दिनमै ६१ जनाको ज्यान गयो

दियोपोस्ट संवाददाता  

बझाङ । अत्याधिक गर्मीका कारण भारतको नयाँ दिल्लीमा बझाङका एक पुरुषको मृत्यु भएको छ । बझाङको थलारा गाउँपालिका २ का ३५ वर्षीय गणेश बहादुर सायरको मृत्यु भएको हो ।

अधिकांश समय शरिरको रक्तचाप कम रहने उनी बिहिबार भने उच्च रक्तचाप भएको भन्दै अस्पताल भर्ना भएका थिए । बिहिबार बेलुका अस्पताल भर्ना भएका उनको शुक्रबार बेलुका निधन भएको हो ।

सायरको नयाँदिल्लीको फरिदावादस्थित आसकोट हस्पिटलमा उपचारको क्रममा निधन भएको भारतमा उनीसँगै काम गर्ने थलारा २ का लक्ष्मण थापाले बताए । ‘सधै विपि लो भयो भन्थे, तर बिहिबार भने उच्च रक्तचाप भयो भनेर आफै अस्पताल पुगेका थिए’ उनले भने, ‘अस्पताल भर्ना भएपछि उनलाई एक्कासी उच्च ज्वरो देखा परेको थियो । नाकमुखबाट रगत बगिरहेको थियो । डाक्टरले गर्मीको कारण मुटु फुटेर अनुहार सुन्निएको र नाकमुखबाट रगत बगेको भन्दै थिए ।’

सायरको फरिदावादमै शनिबार बिहान अन्त्येष्टि गरिएको छ । उनी फरिदावाद नजिकै एक होटेलमा खाना पकाउने र गाडि सफा गर्ने काम गर्दै आएका थिए । हाल फरिदावादमा थलारा गाउँपालिका २ का २ सय बढि पुरुषहरु मजदुरी कार्य गरिरहेका छन् ।
सायर रोजगारीको शिलसिलामा गत वर्ष भारत पुगेका थिए । उनी नयाँ दिल्लीनजिकै हरियाणा फरिदावादको बि ब्लकमा आफन्तसँग बस्दै आएका थिए । उनका दुइ सन्तान, श्रीमती र आमाबुवा बझाङमै बसोबास गर्दै आएका छन् ।

भारतमा गर्मीका कारण दुई दिनमा ६१ को मृत्यु


भारतमा अत्याधिक गर्मीका कारण ६१ ज्नाले ज्यान गुमाएका छन् । भारतको विभिन्न राज्यमा बढेको अत्याधिक गर्मीका कारण दुइ दिनमा ६१ जनाले ज्यान गुमाएका हुन् ।
बिहार राज्यमा मात्र विगत २४ घण्टामा १४ जनाले ज्यान गुमाएका छन् । १४ जनामध्ये १० जना भारतको लोकसभा चुनावी प्रक्रियामा उपस्थित थिए । बिहार, दिल्ली, उत्तर प्रदेश, राजस्थान, ओडिसा, मध्यप्रदेशमा मात्र बिहिबार र शुक्रबार गरी ६१ जनाले ज्यान गुमाएको भारतिय मिडिया दी हिन्दुले जनाएको छ ।
भारतका विभिन्न स्थानको तापक्रम शुक्रबार ५० डीग्री सेल्सियस नाघेको थियो । गर्मीको लहरका कारण देशभर सयौ‌ सर्बसाधारहरु अस्पतालमा भर्ना भएको बताइएको छ ।

सिफारिस