वीर अस्पतालमा औषधी खरिदमा भ्रष्ट्राचार : म्याद गुज्रिएको औषधी स्टोरमा राखेर जनतालाई बाहिर पठाउँछन् डाक्टर

दियोपोस्ट संवाददाता  

काठमाडौं । मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालमा चरम अनियमिता भएको पाइएको छ । महालेखा परिक्षकको ६१ औँ प्रतिवेदनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल भित्रको अनियमितता छताछुल्ल पारेको हो ।

वीर अस्पतालका कार्यकारी निर्देशक सन्तोष पौडेल नेतृत्वमा भएको विभिन्न खरिद काण्डबारे महालेखा परिक्षकले प्रतिवेदनमै औँल्याएको छ । वीर अस्पतालमा मेडिकल स्टोर, जनरल स्टोर, खरिद इकाई, अस्पताल फार्मेसी लगायत क्षेत्रमा व्यापक अनियमितता हुने गरेको यसअघि नै सार्वजनिक भएका थिए । ५० हजार रुपैयाँ भन्दा माथिको कुनैपनि खरिद गर्दा कोटेशनको आधारमा गर्नुपर्ने भएपनि अनलाइन घाटाघटको आधारमा खरिद गर्ने गरेको छ ।

कार्यकारी निर्देशक पौडेलले कार्यालयसमय पछि आफू निकट व्यापारी लक्ष्मण गौतमलाई बोलाएर कमिशन बुझ्ने गरेको आरोप छ । उनी विरुद्ध ट्रमा सेन्टरको नेतृत्वमा रहँदा पनि अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरेको थियो । उक्त मुद्दा अहिले विचाराधिन अवस्थामा छ । वीर अस्पतालमा कार्यरत कर्मचारीले १२ महिनादेखि अतिरिक्त काम गरे बापतको पारिश्रमिक पाएका छैनन् । तर, कमिसनको लाई अनावश्यक करोडौं सामान मगाएर थन्किएको छ ।

महालेखा परिक्षकको ६१ औँ प्रतिवदेन अनुसार वीर अस्पतालले म्याद गुज्रेको औषधी मात्रै खरिद गरेको छैन ।

प्रतिवेदन अनुसार वीर अस्पतालको फार्मेसी शाखा उपलब्ध गराएको विवरण अनुसार २१ आपूर्तकबाट खरिद गरिएको १ करोड ७३ लाख ३० हजारको औषधी तथा औषधीजन्य वस्तुको म्याद गुज्रेको भएपनि फिर्ता भएको छैन ।
त्यतिमात्रै होइन वीर अस्पतालका उच्च अधिकारीले सम्झौता गरे भन्दा महँगोमा औषधी खरिद गरेको समेत खुलाशा भएको छ । प्रतिवेदन अनुसार १३ आपुर्तिकर्तासँग ३६ लाख २३ हजार रुपैयाँ भन्दा बढी औषधी सम्झौता भन्दा बढीको खरिद गरेको हो । उक्त रकम असुली गर्नुपर्ने महालेखाले ठहर गरेको छ । विगत वर्षहरुकै तुलनामा ७ करोड ९५ लाख ७५ हजार रुपैयाँ सम्झौता गरेर पटक पटक म्याद थप गर्दै २९ करोड ९२ लाख रुपैयाँ ३३ हजार रुपैयाँको औषधी खरिद गरेको भेटिएको छ ।

४ करोड ३२ लाख रुपैयाँ ६६ हजार थप व्ययभार थपेको महालेखा परिक्षकले उल्लेख गरेको छ । वीर अस्पतालले सार्वजनिक खरिदमा प्रतिष्पर्धा र मितव्ययितालाई सुनिश्चित नगरेको महालेखाले ठहर गरेको छ । अहिले वीर अस्पतालमा अहिले गरिब विरामीले निशुल्क पाउनुपर्ने औषधी पाएका छैनन् । अस्पतालमा म्याद गुज्रेको औषधी राखेर जनतालाई भने अस्पतालका डाक्टरको सेटिङमा बाहिर फार्मेसीमा औषधी किन्न पठाइन्छ । अहिले अस्पतालका उच्च अधिकारीहरु निर्देशक पौडेल र स्टोरका टिकाराम पनेरु लगायता अधिकारीको लापरबाहीका कारण वीर अस्पतालमा जनताको सामान्य परिक्षणमा समेत समस्या भइरहेको छ । उनीहरुले सामान दाखिला गर्दा समेत १० देखि १५ लाख रुपैयाँ उठाउने गरेका छन् । कर्मचारी भर्नामा समेत रकम उठाउने गरेको आरोप अस्पतालकै कर्मचारीहरु लगाउँछन् ।